तीन टाउका ढलेको ‘मुर्कुट्टा’ गणतन्त्र

- रेवतीरमण सुवेदी


– रेवतीरमण सुवेदी

१२ बुँदे गणतन्त्र (०७२को संविधान)का जन्मदाता माता–पिता, पालनहार जे भने पनि काँग्रेस, एमाले, माओवादीका तीनवटा टाउका (शिर) एक नम्बरमा शेरबहादुर देउवा, दुई नम्बरमा खड्गप्रसाद ओली र तेश्रोमा ‘कमरेड’ बाट ‘मिस्टर’ मा रुपान्तरण भएका पुष्पकमल दाहाल (प्रचण्ड) हुन् भन्नेमा त इतिहासलाई थप पाठ्यक्रम आवश्यक नपर्ला । सम्पूर्ण दर्शी, प्रमाण, साक्षी पुष्टी नै छ । बहुदल आए यताको नेपालको राष्ट्रिय राजनीतिमा गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाको अवसानपछि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानव अधिकार नामको मनपरीतन्त्र, लुटतन्त्र राज्यका सम्पूर्ण अङ्गहरूमा भ्रष्टाचार, घुसखोरी, अन्तर्राष्ट्रिय स्तरका माफीया हालीमुहाली कालोबजार सर्वसत्तावादको यी नै तीन टाउका देउवा, ओली, प्रचण्ड ब्रह्मा, विष्णु, महेश्वर भएका सबैले देखे भोगेकै हौँ । अर्थात् गणतन्त्र घोषणा यताका राज्यसत्ताका राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशदेखि अख्तियार प्रमुखसम्म जति पनि संवैधानिक कार्यकारी पदहरू हुन्छन् ती सबैमा यी नै तीन टाउका (देउवा, ओली, प्रचण्ड) को इसारा, आँखा झिम्काइ र हुकुमत चल्दथ्यो । त्यसै कारण नै चालु गणतन्त्रका जन्मदाता पालनहार ‘ओदान’ भनिएको हो । ओदानका तीन खुट्टामा एउटा ढल्यो भने भात पाक्दैन ।यी तीन टाउका देउवा, ओली, प्रचण्डमध्ये देउवासँग पंक्तिकारको पनि लामो सहयात्रा सङ्गत साक्षातकार अनुभव चिनारी भएकाले उनी बारे अलिकति विवरणमा गएर ओली र प्रचण्डको चिनारीमा चाहिँ अर्थ र तात्पर्य छर्लङ्ग हुनेगरी प्रतीक उदाहरण विम्ब प्रस्तुतिमै बिट मार्छु । कारण यस्ता स्तम्भ लेखनमा धेरै लम्बेतान विवरण सम्भव हुन्न ।

गत भाद्र २४ गते ओली हेलीकप्टरबाट भागेर, प्रचण्ड उनले आफैँ भने अनुसार भारतीय दुतावासमा लुकेर ज्यान जोगाएका र देउवा आफ्नै घरमा लोग्ने स्वास्नी नै पिटिएर घर, नोट जलेर खरानी भएको गणतन्त्रका तीनवटै टाउका एकैसाथ ढलेकोमा त अब कुनै एआईको जुक्ति नहोला ।

(१) शेरबहादुर देउवा
पहिलो टाउको शेरबहादुर देउवाको पूर्ण चिनारीमा रामचन्द्र पौडेलको नाम (अदालतमा किर्ते हस्ताक्षरको मुद्दा चलिरहेका राष्ट्रपति) उल्लेख भएन भने अधुरो हुनेछ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइलाई ‘काँग्रेस’बाट लखेटीइ सकेपछिको ‘गिरिजा काँग्रेस’को लिगेसीलाई ‘देउवा काँग्रेस’का एआई उत्तराधिकारीहरूको विशेष महाधिवेशन ‘रडाको’ ‘क्याप्चर’ ‘विषवृक्ष’सम्म ल्याइ पु¥याउन देउवाभन्दा बढी जिम्मेवार पात्र रामचन्द्र पौडेल हुन् र देउवाको वर्तमान पतन (अवसान) स्वरुपमा नाङ्गै देखिन स्वयं उनको भन्दा बढी गिरिजाप्रसादको भूमिकाले काम गरेको छ । गिरिजाको ०५१ को मध्यावधि पतनको प्रस्थान विन्दु हो ।पश्चिम नेपाल दुर्गम जिल्ला डडेलधुराको एक विकट गाउँमा जन्मेका देउवालाई दुर्गा प्रसाइँले ‘उत्तिसको विरुवा समाएर हग्दै हुर्केका’ भन्नु, त्यो भनिरहनु पर्ने होइन । त्यो जमानाको डडेलधुराको विकट गाउँबाट राजधानीसम्म पढ्न आइपुगेका भनेपछि आफ्नो ठाउँको हुनेखाने परिवार नै मान्नुपर्ने हुन्छ । उनको राजधानीमा अध्ययन कालखण्डमा (अहिले पनि) डडेलधुराको हुनेखानेको अर्थतन्त्रले शिर पुच्छर छेउ टुप्पो केही पुग्दैन थियो । चर्चित भ्रष्टाचार विरोधी अभियन्ता भरत जङ्गमले बताएका उनको ड्राइभरको भाडाको कोठामा एउटा सुत्ने खाटको भाडा ड्राइभरलाई दिएर गुजारा चलाएका थिए । ड्राइभरको भाडाको कोठामा पनि भाडाको ओच्छ्यानको कुरो सुन्दा मलाई हिट्लरको १४÷१५ वर्षको उमेरमा पुलमुनि बास हुने गरेको इतिहास स्मृतिमा ताजा भएको थियो । पैँट फाटेर फेर्ने पैसा नहुँदा प्रदीप गिरिले किनिदिने गर्दथ्ये । देउवाकै जाँड पार्टी संयोजक लङ्गौटिया यार खेमराज सेढाइले बताएर अहिले भाइरल भइरहेको मैतीदेवी चोक छेउ डेरा लिएर बस्दाको कुरो हो । तीन महिनादेखि भाडा तिर्न बाँकी थियो । डेढ महिनादेखि किचनको सम्पूर्ण खाद्यान्न सकिएको थियो । पसलेले उधारो दिन बन्द गरेको थियो । यस्तो अलपत्र अवस्थामा भेटेर भाडा तिरिदिएर डेढ महिनालाई पुग्ने खाद्यान्न बन्दोबस्त गरिदिएका सेढाइको कथन हो ।

पंक्तिकारको देउवासँग पहिलो जम्काभेट एम्नेस्टि इन्टरनेसनल नेपाल शाखाकि प्रमुख दुर्गा पोखरेल (काँग्रेसभित्र शैलजाकी प्रतिस्पर्धी, ज्ञानेन्द्रकी मन्त्री) को साथ लागेर वीरगञ्ज जेल आउँदा जेल गेटमा परिचय भएको हो । ‘म नेविसंघको केन्द्रीय अध्यक्ष हुँ’ आफ्नो परिचय दिएका थिए । त्यसमा मलाई एउटा गुन पनि लागेको थियो । त्यो जेल गेटको मेरो तस्वीर दुर्गाले एम्नेस्टिको जर्नलमा प्रकाशित गरिदिइछिन् । अन्तर्राष्ट्रियकरण भएका कारण धेरै हल्ला हुने डरले एउटै पृष्ठभूमि र मुद्दाका ओखलढुङ्गाका चार सहिदमा भोजपुरको एक थपिनबाट वञ्चित भएको ‘जिउँदो सहिद’ प्रदीप गिरिका पाठ्यक्रममा भेटिन्छ । अहिले बाँचेको जीवनका लागि चाहिँ त्यो एउटा गुन नै थियो । जेलबाट छुटेपछिका संघर्षकाल र आरजुसँग विवाह हुनु अघिसम्म मेरो अत्यन्तै घनिष्ठ सम्बन्ध थियो । गृहमन्त्री हुँदा पुलचोक मन्त्री क्वाटरको छतसम्म पुग्न मलाई कतै सोधखोज र रोकटोक हुन्न थियो । दा¥ही काटीरहेका गृहमन्त्रीले मैले देखाएको कागजमा हेर्दै नहेरी हस्ताक्षर गरेको देख्ने सेक्युरिटीभित्र बाहिर गर्दा सल्युट ठोक्न थालेका थिए ।
देउवाको प्रारब्ध नै खोटो रहेछ त कस्को के लाग्छ ? होइन भने व्यक्तिगत हिसाबले उनी कुन हदसम्मका हुस्सु सोझा समर्पित भला मानिस हुन् भन्ने एउटा साक्षात घटना मसँग पनि जोडिन आइपुगेको छ । ०४७को संविधान जारी हुनु अघि देउवा लन्डनबाट फर्केका (धेरै अन्तर्य लन्डन पुग्नुका पनि छन्) वैचारिक व्याख्यानमा बीपीपछिका शेखर मानिएका (बीपीकै भाषामा) सी.के. प्रसाइँले ‘शेरे पश्चिम’ को तक्मा भिराइदिनुभयो । त्यो तक्मालाई गणेशमान, भट्टराई, गिरिजाले पनि मानेर चुनावी सङ्गठन गर्न पश्चिमाञ्चल पठाउनुभयो । धनगढी कैलालीका सारा काँग्रेसी जनहरूद्वारा देउवाको ठूलो कदको तस्वीर ठड्याइयो । प्रमुख अतिथिको आसनमा देउवालाई बसाइयो । प्रमुख अतिथिबाट देउवाको फोटोमा माल्यार्पण हुने कार्यक्रम थियो । कार्यक्रम सम्पन्नबाट ‘देउवाबाट आफ्नै फोटोमा माल्यार्पण’ समाचार बाहिर आयो । राजधानीका सारा राष्ट्रिय पत्रिकाहरूले चुस्की लिई लिई र मजाक बनाइ बनाइ ब्यानर, ब्रेकर, बक्स समाचार छ्याप्छ्याप्ति प्रचार भयो । त्यसमा समाचार लेखनमा मेरो नाम गाँसिदा के कस्ता फजिति (हन्डर) आइलागे त्यतातिर यहाँ गइँन ।

यति लम्बेतान शैली आवश्यक भए पनि अब अत्यन्त सङ्क्षिप्त सर्टकटमा आउँछु । जुन दिन शेरबहादुर देउवाले नेपाली काँग्रेसको प्रधानमन्त्री भएर ‘प्रचण्ड र बाबुरामको टाउको झोलामा लिएर आऊ र त्यही झोलामा ५० लाख लिएर जाऊ’ भन्ने सरकारी उर्दी जारी गरे त्यही दिन देउवा अन्तर्यको टोपी उत्रिएको थियो । आजको मितिमा त्यस्तो उर्दी जारी गर्न त मान्छेको मासु खाने भनेर गिनिज बुकमा रिकर्डेड इथियोपियाको तानाशाह इदि अमिनले पनि आँट गर्दैन थियो होला । दोश्रो देउवाको कोट उत्रेको घटना चाहिँ राजा विरेन्द्रले दरवार बोलाएर ‘महाकाली सन्धीमा हस्ताक्षर नगर, त्यो राष्ट्रघाती छ’ भन्दाभन्दै ‘कहाँ हुन्छ, वचन दिइसकेको छु’ भन्दै दिल्ली पुगेर हस्ताक्षर गर्नु । त्यही हस्ताक्षरबाट ‘लिपुलेक, लिपियाधुरा, कालापानी’ भारतको नक्साभित्र पुग्यो ।
जब देउवाले चितवनको चुनावी सभामा नेपाली काँग्रेसको सभापतिको हैसियतले उभिएर ‘रुख चिन्हमा होइन हँसिया हथौडामा भोट दिनु’ भनेर भाषण गरे त्यस पछि त टोपी र कोट त उत्रिसकेकै थियो, त्यहाँ पुगेर दौरा सुरुवाल गञ्जी उत्रिएको थियो । बेचन झाको गिरफ्तारीले रवि लामिछानेले प्रधानमन्त्री प्रस्ताव अस्वीकार गरे पछि १२ बजे राती ओली शरणमा लम्पसार पर्न कुद्दा त लङ्गौटीसमेत उत्रिएको थाहा नपाए झैँ गरेर ‘एआई’को शरणमा जानुभन्दा अर्को विकल्प रहेन ।

(२) खड्गप्रसाद ओली
यो मदन भण्डारीको हत्या हुनु एक डेढ वर्ष अघिको कुरो हो । सी.पी. मैनाली त्यतिखेरसम्म राजेन्द्र खेतानका ग्राम्सीको भाषामा खेताला भइसकेका थिएनन् र मदन भण्डारीसँग टक्कर लिने उनको परिचय बनेको थियो । त्यतिखेर म ‘जनमञ्च’ नामक साप्ताहिक म्यागजिनलाई नेताहरूका अन्तरवार्ता लिइदिने पार्टटाइम जागिरमा थिएँ । ‘मदन भण्डारीमा तानाशाही प्रवृत्ति हावी छ’ भन्ने सी.पी. मैनालीको अन्तरवार्ताले एउटा सर्कलमा तहल्का मच्चाएको थियो । ‘जनमञ्च’लाई आफ्ना कपि पुनर्मुद्रण गर्नुपरेको थियो । त्यसै छेकान म मदन भण्डारीसँग अन्तरवार्ता लिने क्रममा संसदीय दलको एमाले कार्यालय पुग्दा खड्ग ओली जम्काभेट भएका थिए र सी.पी. मैनाली अन्तरवार्ता प्रस्तुतिमा कठाक्ष गरेर मदन भण्डारीको अन्तरवार्ता नबिगार्न रिसाएरै चेतावनी दिएका थिए । चेतावनी दिनु सम्मलाई त पार्टी नेताको कुरोमा स्वाभाविक थियो । तर त्यसमा रिसाइहाल्नु पर्ने केही थिएन । त्यसपछि उनी तर्फ फर्केर हेर्न ईश्वर कृपाले अहिलेसम्म दोश्रो जम्काभेट भएको छैन । मसँग उनको त्यो रिसाइबाट नै उनी अहंकारी, पटमूर्ख, निहित स्वार्थी नियत भएका अन्दाज लगाउन सकिन्छ । उनी झापाको नक्सलाइट एक्सन जमिन्दारको टाउको काट्ने अभियोगमा १४ वर्ष जेल बसेका मदन भण्डारीको हत्यापछि त्यो विराशत हत्याएका÷महाकाली सन्धीबाट राजनीतिक भूमिका पाएका वामदेव साक्षी जीवित छन् । तीन पटक प्रधानमन्त्री हुँदा पानीजहाज, रेलयात्रा विस्तार, घरघरको चुलोमा ग्यास पाइप जडान आदि इत्यादि हावादारी आम जनमानस नवजागरणका लागि सर्कसको जोकर जस्तो÷राजनीतिक हिसाबको देश, जनता, प्रणाली र पार्टीका लागि कलंक कालो अध्याय देउवा पछिको । ओली र देउवाको जनघात, राष्ट्रघात, लुटतन्त्रको भावी पुस्तालाई इतिहासको पाठ्यक्रम लेखन हुँदा माधव नेपालको नाम छुट्न हुुन्न ।

(३) पुष्पकमल दाहाल (प्रचण्ड)
पुष्पकमल दाहाल (प्रचण्ड) र पंक्तिकारको दुईवटा मञ्च भाषण सवाल जवाफ भएर दुई पटक नै नाममात्र उच्चारण गरे, उत्तर दिएनन् । पछि थाहा पाएँ त्यो उनको रेस्पोन्स शैली रहेछ । र उनकै अगाडि भनेको हुँ– ‘जुन दिन १७ हजार बढी नेपाल आमाका भविष्यका कर्णाधार सपूतको रगतको मूल्यमा राजा ज्ञानेन्द्रबाट पुनस्र्थापित संसद्मा गिरिजाप्रसाद कोइरालाका हातबाट टीका थापेर माओवादीका ८३ जना सांसद भए त्यही दिन कमरेड प्रचण्ड श्रीलंका तामिल टाइगरका प्रभाकरण भइसकेका हुन् ।’ त्यही दिनदेखि ‘अस्थिरताको प्रशिक्षित खलनायक’ चिनेर जानेर दृष्टि दिन छोडेको लाशको अन्तिम काम अन्त्येष्टिदेखि केही बाँकी रहँदैन । अन्त्यमा गत भाद्र २४ गते ओली हेलीकप्टरबाट भागेर, प्रचण्ड उनले आफैँ भने अनुसार भारतीय दुतावासमा लुकेर ज्यान जोगाएका र देउवा आफ्नै घरमा लोग्ने स्वास्नी नै पिटिएर घर र पैसाका नोट जलेर खरानी भएको गणतन्त्रका तीनओटै टाउका एकैसाथ ढलेकामा त अब कुनै एआईको जुक्ति नहोला । यस अर्थमा अहिलेको सुशीला कार्कीको अर्थको गणतन्त्र टाउको विहिन हुन पुग्यो । हाम्रो पहाडतिर मरेको मानिस भूत भएर देखिँदा टाउको हुँदैन र ‘मुर्कुट्टा’ भनिन्छ । यहाँ यही अर्थमा मात्र ‘मुर्कुट्टा गणतन्त्र’ भनेको हुँ । तपशीलका कुरा त आफ्ना ठाउँमा रहिरहन्छ नै । अस्तु ।

WRITE COMMENTS FOR THIS ARTICLE