२४ संस्थान नाफामा, संस्थानको प्रशासनिक खर्च १२.७% ले बढ्यो
काठमाडौँ : गत आर्थिक वर्ष २०७६–७७ मा २४ संस्थानले नाफा आर्जन गरेका छन् भने १८ संस्थान घाटामा रहेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६–७७ को सार्वजनिक संस्थानको कार्यसम्पादन स्थिति सम्बन्धी प्रतिवेदन अनुसार सरकारी संस्थानहरूको नाफा गत वर्षको तुलनामा १८.१९ प्रतिशतले वृद्धि भइ एक खर्ब ९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।
संस्थानहरूको सञ्चित नोक्सानीमा आर्थिक वर्ष २०७५–७६ को तुलनामा ०.९३ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षसम्म संस्थानहरूको सञ्चित नोक्सानी ३४ अर्ब २३ करोड ६१ लाख रुपैयाँ रहेको छ । संस्थानहरूको सञ्चित नाफा भने २९.५३ प्रतिशतले वृद्धि भइ ७५ अर्ब ५१ करोड १९ लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षसम्म अस्तित्वमा रहेका संस्थामध्ये दुई संस्थानको कारोबार शून्य छ । जनकपुर चुरोट कारखाना बन्द अवस्थामा छ भने विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामा छ । नोक्सानीमा सञ्चालन भैरहेकामध्ये नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि, बुटवल धागो काराखाना लि र नेपाल रेल्वे कम्पनी सञ्चालनमा आउन नसकेपनि प्रशासनिक खर्च भैरहेकाले नोक्साीमा रहेका छन् ।
गत आर्थिक वर्षमा नाफामा रहेका २४ संस्थानको खुद नाफा ४.२८ प्रतिशत र नोक्सानीमा रहेका १८ संस्थानको खुद नोक्सानी ९९.५ प्रतिशत छ । त्यस्तै सार्वजनिक संस्थानको प्रशासनिक खर्च समेत १२.७ प्रतिशतले बढेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE