हनुमान ढोकाको नगरालाई उछिन्दै बागलुङको तंग्राममा बन्यो नेपालकै ठुलो नगरा !


बागलुङ –
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राममा नेपालकै सबैभन्दा ठूलो नगरा स्थापना गरिएको छ । यसको गोलाई ७ फिट रहेको बताईएको छ ।

संगीत संग्रहालय निर्माण गर्ने अभियान अन्तर्गत गाउँमैत्री अक्षय कोषले नगरा स्थापना गरेकोे हो । त्यसको लागि गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको गाउँमैत्री अक्षय कोषका अध्यक्ष हेमराज आश्रमले बताए ।

‘यो देशकै ठूलो नगरा हो ।’ हेमराजले भने–‘हालसम्म सबैभन्दा ठूलो भनिएको नगरा हनुमान ढोकामा छ, त्यसको गोलाई ६.५ फिट रहेको छ, त्यसैले पनि हामीले स्थापना गरेको नगरा नेपालकै ठूलो भन्ने दाबी हो ।’ नगरा निर्माण र स्थापनाको लागि १० जना दक्ष जनशक्ति र ५० जना सहयोगीलाई १८ दिन लागेको अध्यक्ष हेमराजले बताए ।

नगराको जम्मा तौल २ सय ८० केजी रहेको छ । त्यसमा २ सय २२ केजी तामा, १० केजी फलाम, फित्ता लगायतका सामाग्री प्रयोग गरिएको छ ।

२०६६ सालमा स्थापना भएको गाउँमैत्री अक्षय कोषले संग्रहालय निर्माणको लागि जग्गा व्यवस्थापन लगायतका काम सम्पन्न गरेको छ । हालसम्म करिब ३५ लाख रुपैयाँ बराबर खर्च भईसकेको आश्रमको भनाई छ । उनले पञ्च वर्षीय योजना बनाएर काम थालिने र पाँच वर्ष भित्रमा नै काम सकिने बताए ।

गाउँमा संगीत संग्रहालय निर्माण गरिएसँगै पर्यटक बढ्ने उनले बताए ।

नेपालकै ठूलो नगरा सहित संगीत संग्रहालय गाउँमा हुनु नेपालकै नमुना भएको गाउँ कार्यपालिका सदस्य टिका सँगम बिकले बताए ।

‘आफ्नो गाउँमा संगीत संग्रहालय हुनु भनेको एकदमै राम्रो होे, गाउँको पहिचान दिने सवालमा महत्वपूर्ण छ ।’ बिकले भने–‘हामी लाईब्रेरी पनि बनाउन लागिरहेका छौँ, यसले गाउँको राम्रो सन्देश दिन्छ भन्ने लाग्छ ।’ संग्रहालयमा हालसम्म नेपाली लोक तथा पश्चिमेली गरि २ दर्जन प्रकारका बाजागाजा रहेकाछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE