स्वदेशी लगानीको ठूलो आयोजना अपर तामाकोसीको बिजुली असार २० गते देखि राष्ट्रिय लाइनमा
काठमाडौं : मुलुककै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम असार २० गते देखि प्रारम्भ हुँदैछ।
निर्माण सम्पन्न भएको यो आयोजनाको परीक्षण उत्पादन सफल भएपछि प्रशारण लाइनमा जोड्न लागिएको हो। माथिल्लो तामाकोसीबाट उत्पादन हुने राष्ट्रिय प्रणालीमा जोड्न खिम्ति सवस्टेशनमा तार तान्ने काम भएको छ। आइतबारदेखि शनिबारसम्म एक साताका लागि खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुनेछ। यस बीचमा खिम्तीलगायत अन्य आयोजनाबाट उत्पादन हुने बिजुली आपूर्ति बन्द हुनेछ।
माथिल्लो तामाकोसीको बिजुली केन्द्रिय प्रशारण लाइनमा जोड्ने र त्यही क्रममा खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने सूचना नेपाल विद्युत प्राधिकरणले निकालेको छ। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले आयोजनाबाट उत्पादित हुने बिजुलीलाई तार तानेर खिम्ती सवस्टेशनसम्म पुर्याउन बीचमा रहेको खिम्ती लामो साँघु १३२ केभी प्रसारण लाइन एक साताका लागि बन्द गर्न लागिएको जानकारी दिएका छन्। तार खिम्ती सवस्टेशनको प्रणालीमा आबद्ध गरिएपछि माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादन हुने पहिलो युनिटको बिजुली प्रसारणलाइनबाट प्रवाह गर्ने काम सुरु हुनेछ।
आयोजनाको सुरुङ, जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ। बैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत उत्पादन सुरु हुने अनुमान गरिए पनि केही प्राविधिक समस्याले गर्दा केही ढिलो व्यवसायिक उत्पादन गर्न लागिएको हो। अब कुनै पनि समस्या नरहेको आयोजनाले जनाएको छ।
स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसी सबैभन्दा ठूलो आयोजना हो। दोलखास्थित यस आयोजनाबाट ४५६ मेगावाट विजुली उत्पादन हुनेछ। आयोजनामा विभिन्न युनिटमा ७६ मेगावाट क्षमताको ६ वटा टर्वाइन जडान गरिएको छ । आगामी असार मसान्त भित्रमा ३ वटा युनिटबाट ७६ मेगावाटका दरले २२८ मेगावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ। निर्माण सकिएपछि गत वैशाखको दोस्रो हप्तादेखि नै माथिल्लो तामाकोसीको जलाशय भरेर परीक्षण सुरू गरिएको थियो।
WRITE COMMENTS FOR THIS ARTICLE