सिंहदरबार गेटमा उपप्रधानमन्त्री महतोलाई प्रवेश निषेधको पर्चा


उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ ।

उपप्रधानमन्त्री महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिण गेटमा पर्चा टाँस गरिएको हो ।

पर्चामा लेखिएको छ – ‘नयाँ पार्टी, नेपालले दिएको समयसिमाभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ । – नयाँ पार्टी, नेपाल’

किन पर्चा टाँस गरेको भन्ने प्रश्‍नको जवाफ दिँदै नयाँ पार्टी, नेपालका प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले उपप्रधानमन्त्री महतोलाई आफ्नो नागरिकताबारे स्पष्ट पार्न समयसीमा दिएको तर उनले स्पष्ट नपारेपछि सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताए

‘तपाईंले सात दिनभित्रमा नागरिकताका विषयमा स्पष्ट पार्नुस् भनेर हामीले उहाँको नाममा सूचना जारी गरेका थियौँ । त्यो सूचनाको जवाफ दिनुपर्ने ठाउँमा उहाँले रवाफ दिनुभयो,’ उनले भने, ‘त्यही भएर कथित विदेशी नागरिक राजेन्द्र महतोलाई नयाँ पार्टी नेपालले सिंहदरबार प्रवेश निषेध गर्ने र देशभरी निषेध गरी यिनको नागरिकता रद्द गरेर देश निकाला गर्ने योजनाअन्तर्गत सूचना टाँस्नुपरेको हो ।’

दक्षिण गेट परिसरमा दुई जना व्यक्ति आएर पर्चा टाँस गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE