सरकारविरुद्ध पाँच विद्यार्थी संगठन सडकमा : राष्ट्रपति नै असंवैधानिक कार्यमा उद्धत भएको आरोप

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्काे असंवैधानिक कदम चालेको भन्दै विभिन्न पाँच विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले काठमाडौँको प्रदर्शनी मार्गलगायत देशका विभिन्न ठाउँमा सामाजिक दूरी कायम गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले माधवकुमार नेपाल समूह निकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन र जनमोर्चा निकट अखिल छैठौंले आज बिहीबार सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीका हरेक कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएर संविधान रक्षा गर्ने कर्तव्यबाट च्यूत भएर राष्ट्रपतिले नै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेर दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेर, कोभिड महामारीले थलिएका जनतालाई खोपको व्यवस्था गर्न छोडेर राष्ट्रघाती कदम चालिरहेको बताएका छन् । त्यस्तै कुशासन, महंगी, भ्रष्टाचारले मुलुक आक्रान्त भएको उनीहरुको ठहर छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले संविधान अनुसार देश चल्नुपर्छ भनेर सडकमा आएको बताए । ‘असंवैधानिक कदम चालेर विघटन गरिएको संसद् पुनःस्थापना हुनपर्छ । संविधान अनुरुप देश चल्नुपर्छ । संविधान र लोकतन्त्रको सुरक्षा हुनुपर्छ भनेर हामी सडकमा आउन बाध्य भएका छौँ,’ उनले भने, ‘सरकारले संविधान र लोकतन्त्रको चीरहरण गर्ने गरी जे जति कामहरु गरिरहेको छ त्यसको भुलसुधार नगरेसम्म विद्यार्थी संगठनहरु आन्दोलन गरिरहन्छन् । महामारीको बेला छ । देशको संविधान मिचेर असंवैधानिक कदम चाल्न राष्ट्र प्रमुख तल्लिन भएपछि आन्दोलित भएका हौँ ।’

उनले विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थलगायतमा भएको महंगी फिर्ता गर्न पनि सरकारलाई आग्रह गरेको जानकारी दिए । उनले सरकार नसच्चिए आगामी दिनमा कडा खालको आन्दोलन गर्न बाध्य हुने पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE