सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने
बेइजिङ — कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ)ले जनाएको छ ।
आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरुहुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको छ ।
बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ ।जुन् संयुक्त राष्ट्रसंघद्वारा निर्धारित १.९० डलर प्रतिदिनको अन्तर्राष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।
सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ । न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उनले चेतावनी दिए।
गरिब देशहरुमा जारी असमानताका कारण महिला र यूवाहरुको रोजगारीमा गम्भीर असर पर्ने आईएलओले जनाएको छ । गरिबी न्यूनीकरणका लागि विभिन्न उपाय अपनाएको देशहरुको प्रयासलाई पाँच वर्ष पछि धकेलेको पनि आईएलओको भनाइ छ ।
त्यसैगरी संयुक्त राष्ट्रसंघले महामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ । – रासस
WRITE COMMENTS FOR THIS ARTICLE