सडक मानवमुक्त घोषणा गर्ने तयारीमा गण्डकी प्रदेश सरकार

यस्ता छन् गण्डकी प्रदेश सरकारको ३० बुँदे उपलब्धि :: Setopati

गण्डकी प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गरिने भएको छ । सडक मानवकै उद्धार र व्यवस्थापन गर्दै आएको मानव सेवा आश्रम नामक संस्थासँग मिलेर प्रदेश सरकारले उक्त घोषणा गर्ने तयारी गरेको हो ।

घोषणा गरेपछि त्यहीअनुसारको कार्यक्रम, बजेट विनियोजन गरेर सम्बन्धित संस्थासँग अनुबन्ध गर्ने निर्णय गत ६ साउनको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । सम्भवतः ११ वटै जिल्लामा देखिएका सडक मानवलाई व्यवस्थापन गरेर यही महिनामा उक्त घोषणा हुनेछ ।

एक जना राखेबापत प्रदेश सरकारले आश्रमलाई मासिक तीन हजार रुपैयाँ दिने प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मानव सेवा आश्रमको भवन निर्माणमा प्रदेश सरकारले सहयोग गर्दै आएको छ । अभियानमा सहयोग गरेबापत् आगामी दिनमा पनि प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा पनि आवश्यकताअनुसार सहयोग गर्ने भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका प्रवक्ता खड्काले बताए ।

गण्डकीमा गोरखा, कास्की, लमजुङ र बागलुङमा मानव सेवा आश्रम छन् । बाँकी सात जिल्लाका सडक मानवलाई पनि यही चार जिल्लाको आश्रममा व्यवस्थापन गरिने खड्काले जानकारी दिए ।
‘चारवटा जिल्लाले जिल्लाभरका भैहाले, नजिकका जिल्लाका सडक मानवलाई ल्याएर व्यवस्थित गर्ने, संरक्षण गरिने छ,’ उनले थपे, ‘म मन्त्रालयमा हुँदा एमओयूमा साइन हुन पाएन । नयाँ सामाजिक विकासमन्त्रीले एउटा कार्यक्रमका बीच अनुबन्ध गर्नुहुन्छ ।’

खड्का १४ असारमा शिक्षा, संस्कृति तथा सामाजिक विकासमन्त्री बनेपछि पहिलो निर्णय नै सडक मानवमुक्त प्रदेश बनाउने थियो । मन्त्रिपरिषद्बाट उक्त निर्णय पास गराएको दुई दिनपछि ८ असारमा खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका थिए । हाल सामाजिक विकासमन्त्री कांग्रेसकै मेखलाल श्रेष्ठ छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE