सगरमाथाः आरोहीमा कोरोना संक्रमणबारे मन्त्रालय मौन, वास्तविकता अन्यौलमा
काठमाडौँ – ‘आधार शिविरको अवस्था धमिलो पानी जस्तो छ कोरोना भाइरसको संक्रमणलाई लिएर। शिविरमा रहेका केहीलाई संक्रमण भएको चर्चा हुन्छ, केहीलाई मिल्दोजुल्दो लक्षण देखिन्छ। तर यकिन भन्न सकिने अवस्था छैन’, आधार शिविरबाट फर्किएर हाल नाम्चेमा रहेका आरोहण एजेन्सीका सदस्यले भने, ‘संक्रमण भए–नभएको थाहा पाउनका लागि यहाँ परीक्षणको व्यवस्था छैन। यकिन जानकारी नहुँदा अन्यौलको अवस्था छ।’
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि हिमालमा बाटो बनाउने काम लगभग सकिएको छ। विभिन्न आरोहण दलका केही सदस्यहरु उकालो लाग्न थालेका छन् भने अरु आधार शिविरमा तयारी गरेर बसेका छन्।
कोरोना भाइरसको संक्रमण दोस्रो लहरमा थप तीव्र रुपमा देशका विभिन्न स्थानमा फैलिँदै जाँदा आरोहणका लागि पुगेका केहीमा पनि संक्रमण भएको खबरले आधार शिविरमा ‘त्रास र अन्यौल’ को अवस्था रहेको ती सदस्यले बताएका छन्।
अहिलेसम्म पर्यटन मन्त्रालय वा सो मातहतको पर्यटन विभागले भने सगरमाथा वा सोही आधार शिविरबाट आरोहण गर्ने लोत्से र नुप्से आरोहणका लागि अनुमति लिएर गएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी नरहेको दाबी गर्दै आएको छ।
तर आधार शिविरमा आरोही तथा दलका सदस्यहरुको स्वास्थ्य सेवाका लागि खटिएका चिकित्सक तथा उद्धारमा खटिएकाहरुका अनुसार कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका ३५–४० जनालाई उद्धार गरिएको छ।
आरोहीको उद्धारमा खटिएका एक सदस्यले भने, ‘हामीले अहिलेसम्म उद्धार गरी काठमाडौँ पठाएका ३५–४० जनामा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो। त्यसमध्ये कम्तीमा १७ जनामा काठमाडौँ पुगेपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी छ।’
यस्तै आधार शिविरमा स्वास्थ्य सेवाका लागि खटिएका हिमालयन रेस्क्यू एसोसिएशनका डा. प्रकाश खरेलले भनेका छन्, ‘हामीले अहिलेसम्म झण्डै २०० जना आरोही तथा आरोहण दलका सदस्यहरुलाई स्वास्थ्य सेवा प्रदान गरेका छौँ। त्यसमध्ये केहीलाई कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका थिए र छन्। तर यहाँ (आधार शिविरमा) परीक्षणको व्यवस्था छैन, सो कारणले संक्रमण हो वा होइन यकिन भन्न सकिएको छैन। अर्को कुरा उच्च हिमाली क्षेत्रमा हुने बिमारीको लक्षण पनि कोरोना भाइरसको संक्रमणसँग मिल्ने हुँदा यसै भन्न सकिने अवस्था छैन।’
आरोहणका लागि अनुमति लिएर खुम्बु वा आधार शिविरमा पुगेकाहरुमध्ये कसैलाई संक्रमण भएको जानकारी आफूसँग नरहेको दाबी पर्यटन मन्त्रालयले गरे पनि एजेन्सीहरुले भने त्यसबारे जानकारी गराएको बताउँछन्। तर हाल सगरमाथा आधार शिविरमा खटिएका मन्त्रालयका एक अधिकारीले अहिलेसम्म उद्धार गरि काठमाडौँ पठाइएका मध्ये डेढ दर्जनमा संक्रमण पुष्टि भएको ‘सुन्नमा आएको’ बताएका छन्।
हिमाल आरोहीहरुलाई सेवा प्रदान गर्दै आएको काठमाडौँ स्थित एक एजेन्सीका प्रमुखले भने, ‘आधार शिविर पुगेका केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो र अहिले पनि त्यहाँ रहेका केहीमा संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । तर कसैको पनि अवस्था गम्भीर वा चिन्ता गर्नु पर्ने छैन।’
सबै एजेन्सीहरुले आरोहीहरुको अवस्थाबारे पर्यटन विभाग हुँदै मन्त्रालयलाई जानकारी गराइरहेको उनले बताए। ती सञ्चालकले भने, ‘आधार शिविरबाट उद्धार गरिएकाहरुमा कोरोना भाइरसको संक्रमण भएको जानकारी मन्त्रालयलाई छ, तर बल्लबल्ल खुलेको आरोहण प्रभावित हुने जोखिम वा दबाब झेल्नु पर्ने हुँदा औपचारिक रुपमा स्वीकार नगरेको मात्रै हो।’
खुम्बु क्षेत्रको जनजीविका पूर्ण रुपमा हिमाली पर्यटनमा निर्भर रहेको र यो वर्ष आरोहण खुल्दा केही राहत महसुस गरेका स्थानीय बासिन्दा कोरोना संक्रमणका कारण बिचमै गतिविधि रोकिन्छ कि भनेर चिन्तामा रहेको उनले बताए।
गएको वर्ष कोरोना भाइरसको महामारीका कारण आरोहण खुलेको थिएन। यो वर्ष पीसीआर परीक्षणमा नेगेटिभ आएकाहरुलाई आरोहण अनुमति दिइएको छ। तर आधार शिविर पुग्दा पुग्दै केहीमा संक्रमण फैलिएको हो।
संक्रमणको जानकारी नरहेको बताएको पर्यटन मन्त्रालयले आधार शिविरमा सुरक्षा सावधानी अपनाइएको बताउँदै आएको छ। भौतिक दूरी कायम गर्ने, एक दलको टेन्टबाट अर्कोमा अत्यावश्यक नपरी नजाने व्यवस्था गरिएको मन्त्रालयका अधिकारीले बताएका छन्।
मन्त्रालयले स्वीकार नगरे पनि नर्वेका आरोही एर्लण्ड नेसले आफू कोरोना भाइरसबाट संक्रमित भएको र सोही कारण विश्वको सर्वोच्च शिखर चुम्ने आफ्नो सपना यो पटकका लागि अन्त्य भएको सार्वजनिक रुपमा बताएका छन्। आरोही मात्रै होइन सगरमाथा आधार शिविर क्षेत्रमा ट्रेकिङ्गका लागि गएकाहरुमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गएको अप्रिल पहिलो हप्ता आई आधार शिविर क्षेत्रमा ट्रेकिङ्ग गरेर फर्किएका दुई भारतीयमा काठमाडौँ फर्किएपछि कोरोना भाइरसको संक्रमण पुष्टि भयो। नाम उल्लेख गर्न नचाहेका ती दुई भारतीयमा सरगरमाथा आधार शिविर क्षेत्रको ट्रेकिङ्ग सकेर फर्किए पछि अप्रिल १५ मा गरेको परीक्षणमा संक्रमण देखिएको हो। त्यसपछि ठमेलको एक होटलमा क्वारेन्टिनमा बसेका उनीहरुको दुई हप्तापछि पीसीआर रिपोर्ट नेगेटिभ आयो र मंगलबार भारत फर्किएका छन्।
यी घटनाहरुले आधार शिविर क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि गर्छन्। तर ठप्प भएको हिमाली गतिविधि पुनः रोकिने वा दबाब झेल्नु पर्ने सम्भावनका कारण सरकारी निकाय मौन बसेको व्यवसायीले बताएका छन्।
पर्यटन विभागले यो वर्ष वसन्त ऋतु सिजनमा सगरमाथा आरोहणका लागि ४०८ जनालाई अनुमति प्रदान गरेको छ। मे २९ सम्ममा अनुमति प्राप्तहरुले आरोहण गरिसक्नु पर्ने छ।
WRITE COMMENTS FOR THIS ARTICLE