संसद विघटनसम्बन्धी सरकारी पक्षको बहस सकियो, आइतबार सभामुखका तर्फबाट बहस हुने

काठमाडौँ- संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा जारी रहेको सुनुवाइमा शुक्रबार रिट निवेदनको विपक्षीका तर्फबाट बहस सकिएको छ। आइतबार सभामुखका तर्फबाट डेढ घन्टा बहस हुनेछ।

सरकारको बचाउ गर्दै ११ जना सरकारी वलिक र प्रधानमन्त्री केपी शर्मा ओलीका २१ जना निजी कानुन व्यवसायी गरी ३२ जनाले प्रतिरक्षा बहस गरेका छन् । पाँच दिनसम्म बहस गरेका सरकार पक्षका कानुनव्यवसायीहरूले प्रधानमन्त्री नियुक्ति गर्नु राष्ट्रपतिको अन्तरनिहित अधिकार भएको दाबी गर्दै राष्ट्रपतिको संवैधानिक अधिकारमा अदालतले हस्तक्षेप गर्न नमिल्ने दलिल पेश गरेका छन् ।
अब सभामुख अग्निप्रसाद सापकोटाको तर्फको बहस आइतबारबाट सुरु हुनेछ । सभामुखका पक्षबाट बहस गर्न २ घण्टाको समय छुट्याइएको छ । निवेदकका तर्फबाट जवाफी बहसका लागि ३ घण्टा समय छ । सो समयभित्र कांग्रेस सभापति शेरबहादुर देउवा सहितका सांसदहरूको तर्फबाट ४ जना वरिष्ठ अधिवक्ताले जवाफ दिनेछन् ।

सभामुखको तर्फबाट गरिने दुई घण्टा, जवाफी बहसका लागि तीन घण्टा र एमिकस क्यूरीको रायका लागि दुई घण्टा गरी जम्मा सात घण्टाको बहसपछि फैसला आउने छ । बहसमा उत्रिएका अधिवक्ताहरूले बहस नोट असार १० गते नै इजलाससमक्ष बुझाइसकेका छन् । प्रधानन्यायधीश चोलेन्द्रशम्सेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासमा न्यायधीशहरू दीपकुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई हुनुहुन्छ ।

शुक्रबार विपक्षीका तर्फबाट बाबुराम दाहालले बहस गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE