शैक्षिक प्रमाणपत्र धितो राखेको भरमा कर्जा दिन सकिँदैन:बैंकर्स
काठमाडौं । सरकारले जेठ १५ गते जारी गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट शैक्षिक प्रमाणपत्र राखेर ऋण पाउने व्यवस्था मिलाएको दाबी गरेपनि सो अनुसार ऋण दिन नसक्ने बैंकहरुले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले महत्व दिदै अब स्नातकभन्दा माथिल्लो तहका शिक्षित युवाका लागि प्रमाणपत्र धितोमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने व्यवस्था गरे जनाएपनि सम्बन्धित व्यक्तिहरुले भने प्रमाण पत्रमात्र राखेर ऋण नपाउने पक्कापक्कि भएको छ । अर्थमन्त्री पौडेलले लोभलाग्दो कार्यक्रम ल्याएपनि त्यो कार्यान्वयन हुन नै नसक्ने नेपाल बैंकर्स एशोसियसनले जनाएको छ । यस अघिपनि प्रधानमन्त्री केपी ओलीको सरकारले प्रमाणपत्र धितोमा राखी सहुलियतपूर्ण ऋण दिने कार्यक्रम ल्याएको भएपनि त्यो असफल भइसकेको छ ।
तीन वर्षअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सुरु गरेको प्रमाणपत्र धितो कर्जा कार्यक्रमबाट हालसम्म कसैले पनि ऋण पाएको छैनन् । ओली सरकारले पहिलो बजेट अर्थात आर्थिक वर्ष २०७५/०७६) मा प्रमाणपत्र धितोमा ७ लाखसम्म ५ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्ने नीति ल्याएको थियो । त्यस समयमा सरकारले सहुलियतमा ऋण दिन लाग्यो भनेर बेरोजगार शिक्षित युवाहरु आशावादी बन्दै प्रमाणपत्रहरु बोकेर बैंकमा गएपनि अन्त्यमा रित्तो हात फर्किन परेको अनुभब पीडित युवा/युबतिहरुको रहेको छ । नेपाल राष्ट्र बैंकले २०७५ मंसिरमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७५ अनुसार बैंकहरुलाई शिक्षित युवा स्वरोजगार कर्जा शीर्षकमा ७ लाखसम्म रुपैयाँसम्म लगानी गर्न निर्देशन समेत दिएपनि ऋण दिएको रकमको ग्यारेन्टी नभएको भन्दै सो ऋण कुनै पनि बैंकले प्रवाह गरेनन् ।
राष्ट्र बैंकका अनुसार हालसम्म शैक्षिक प्रमाणपत्र धितोमा बैंकहरुले १३९ जना युवालाई ६ करोड ५० लाख रुपैयाँ कर्जा दिएको रेकर्ड देखाएपनि शैक्षिक प्रमाणपत्रका अलवा अन्य बस्तु धितो राखी उपलव्ध गराएको सम्बन्धित बैंकले जनाएको छ । सरकारले बजेटमा घोषणा गरे पनि बैंकहरुले कर्जा दिन चाहेका छैनन् । बैंकरहरु युवासँग ऋण लिएर व्यवसाय सञ्चालन गर्ने स्पष्ट योजना समेत नभएको र प्रमाण पत्रकै आधारमा ऋण प्रवाह गर्दा सो ऋण फिर्ता नहुने बढी सम्भाबना भएको देखेपछि बैंकरहरु आनाकानी गर्दै आएका हुन । नेपाल बैंकर्स संघका अनुसार प्रमाणपत्र मात्र ल्याएर धितो राखेको भरमा कर्जा दिन नसकिने बताउदै अगाडी भन्यो,‘बैंकले जनताको निक्षेपलाई कर्जाका रुपमा दिने हो, सो रकमको सुरक्षा गर्नुपर्ने दायित्व बैंकको भएकाले शैक्षिक प्रमाण पत्रका आधारमामात्र ऋण दिदा असुरक्षित हुने भएकाले जानाजान बैंकले त्यहाँ लगानी नगरेको हो ।’ यसअघिपनि प्रमाणपत्र धितोमा ऋण लिन दिएकाहरुको अधिकांश योजना सुरक्षित नभएकाले कर्जा प्रवाह गर्न नसकिएको बैंकरहरुले जनाएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE