शेयर बजारमा भीषण पहिरो
काठमाडौं : सेयर बजारमा भीषण पहिरो गएको छ। झन्डै २० अर्बको कारोबार भइरहेकोमा असार ३ गते घटेर साढे १५ अर्बको कारोबारमा सीमित हुन पुगेको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल गरी मूल्य बढाएको सार्वजनिक भएसँगै सेयर बजारमा भीषण पहिरो गएको हो।
बोर्डले सार्वजनिक गरेका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। पछिल्लो समयमा लगातार सेयर बजार बढिरहेको थियो। जसले गर्दा लगानीकर्ता उत्साहित थिए।
बोर्डले ५१ वटा कम्पनीले सेयर मूल्य कर्नरिङ, इन्साइडर ट्रेडिङ गरेर बढाएको भन्दै सूची सार्वजनिक भएपछि लगानीकर्ता सशंकित बनेका छन्। बोर्डले त्यस्ता कम्पनीको सेयर जोखिम रहेको भन्दै थप अध्ययन गर्ने जनाएको छ।
सेयर मूल्य घट्दा लगनीकर्ताले धेरै गुमाएका छन्। जोखिम सेयर भनिएका ५१ मध्ये ४७ वटाको सेयर मूल्य घटेको छ। बुधबार कारोबार सुरु भएदेखि नै उतारचढाव आएको थियो। अन्तिम समयमा बजार मापन गर्ने सूचक ५२.३९ अंकले घटेर परिसूचक २९६९.७२ बिन्दुमा रोकिएको छ। केही समयअघि लगानीकर्ताले कारोबारको अनुपातमा सेयर मूल्य नबढेका बताइरहेका थिए। तर पछिल्लो समयमा सेयरको सूचक क्रमशः बढ्दै गएको थियो।
नेप्सेका अनुसार बुधबार २ सय १९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता सेयर किनबेच भएको छ। १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १८ रुपैयाँमा किनबेच भएको हो। लघुवित्तबाहेक सबै समूहको उपसूचकमा भारी गिरावट आएको छ। तर लघुवित्तको १ सय ३९.७४ अंकले बढेको छ।
नियमक निकाय धितोपत्र बोर्डले नै खराब कम्पनीको सूची सार्वजनिक गरेपछि लगानीकर्ता त्रसित भएका हुन्। मंगलबारसम्म उकालो लागेका कम्पनीका सेयर मूल्य बुधबार घटेको छ।
नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२ रुपैयाँले घटेको छ। १ हजार ९ सय ३० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२ रुपैयाँले घटेर १ हजार ८ सय ५८ रुपैयाँ कायम भएको छ।
नागरिक लगानी कोषको सेयर मूल्य ७८ रुपैयाँ घटेको छ। ४ हजार २ सय २८ रुपैयाँ कायम भएको कोषको सेयर मूल्य ४ हजार १ सय ५० रुपैयाँ पुगेको छ। अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ रुपैयाँले घटेर ७ सय ४९ रुपैयाँ कायम भएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेर ५ सय ३४ रुपैयाँ भएको छ। विशाल बजार कम्पनीको सेयर मूल्य मंगलबारसम्म ६ हजार ६ सय रहेकोमा २ सय २४ रुपैयाँले घटेर ६ हजार ३ सय ७६ रुपैयाँ भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य २ सय ५५ रुपैयाँ घटेको छ। मंगलबारसम्म १० हजार ५ सय ५० सेयर मूल्य भएकोमा बुधबार १० हजार ३ सय २५ रुपैयाँ रहेको छ।
राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ७० रुपैयाँ घटेको छ। २२ हजार ६ सय ७० सेयर मूल्य रहेको यस कम्पनीको मूल्य २१ हजार ९ सय रुपैयाँ कायम भएको छ।४ सय ३८ रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर २६ रुपैयाँले घटेर ४ सय १२ रुपैयाँ पुगेको छ।
अस्वाभाविक चलखेल गरी एक वर्षमा ३०० प्रतिशतभन्दा बढी मूल्यवृद्धि गरेको नेपाल धितो बोर्डको आशंका छ। बोर्डले कम्पनीको भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन गर्ने घोषणा गरिसकेको छ। मूल्य आम्दानी अनुपात सयभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा ५१ कम्पनीलाई जोखिमको सूचीमा राखेको छ।
उता लगानीकर्ताहरूले धितोपत्र बोर्डको कदमप्रति कडा आलोचना गरेका छन्। नेपाल नेपाल इभेस्टस्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले विज्ञप्ति निकालेर बोर्डको कदमप्रति गम्भीर असहमति रहेको जनाएका छन्। फोरमका अध्यक्ष छोटेलाल रौनियार र संघका अध्यक्ष उत्तम अर्यालले भयभीत नभई कारोबार गर्न मंगलबार राति नै अनुरोध गरेका थिए।
नियमक निकायले सञ्चालन स्वीकृति दिएका कम्पनीहरूमा लगानी गर्न उचित हुँदैन भनेर सूची सार्वजनिक गर्नु उचित नभएको लगानीकर्ताको ठहर छ। धितोपत्र बोर्डमा दुई सयभन्दा बढी कम्पनीहरूको सूची छन्। ५१ वटा कम्पनीहरूलाई कालोसूचीको ढाँचामा जोखिम औंल्याएर लगानीकर्ताहरूको लगानी असुरक्षित बनाउने काम भएको बताइएको छ।
-(तुलसी सूवेदी) अन्नपूर्ण पोष्ट
WRITE COMMENTS FOR THIS ARTICLE