विश्वकप २०२२ को छनोट : आज नेपाल र चाइनिज ताइपेई भिड्दै, कसले मार्ला बाजी ?
फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईसँग खेल्दै छ ।
कुवेतमा हुन लागेको दोस्रो चरणको नेपाल र ताइपेईबीचको खेलमा नेपाली समयअनुसार राति पौने १० बजेबाट सुरु हुनेछ । जुन खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
पहिलो खेलमा रोमाञ्चक जित निकालेको नेपाल बिहीबार उच्च मनोबलका साथ मैदान उत्रिनेछ भने चाइनिज ताइपेई अघिल्लो खेलमा घरेलु मैदानमा नेपालसँग २–० ले भोगेको हारको बदला लिने लक्ष्यका साथ मैदान उत्रिनेछ ।
तर, उच्च तापक्रमका साथ कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला हुने खेल दुवै टोलीका लागि त्यति सहज भने हुने छैन । समूह ‘बी’मा रहेको नेपाल तालिकाको चौथो स्थानमा छ । छनोट चरणका पाँच खेलमध्ये नेपालले चार खेलमा पराजय भोगेकाे छ ।
पाँच खेलमध्ये नेपालले कुवेतसँग दुवै खेलमा पराजय भोगेको थियो । त्यस्तै, जोर्डन र अस्ट्रेलियासँग एक-एक खेल खेलेको नेपाल ५-० र ३-० ले पराजित भएको थियो ।
विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना भने नेपालको लगभग सकिइसकेको छ । अब नेपालका लागि २०२३ मा हुने एसियन कपका लागि छनोटमा पर्नु नै सफलता हुनेछ । तर, त्यो यात्रा पनि सहज भने छैन ।
एसियन कपमा छनोट हुन नेपालले तालिकाको चौथो स्थानमा आफ्नो स्थान सुरक्षित पार्नुपर्छ । नेपालले २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियासँग खेल्नेछ ।
छनोट खेल खेल्नुअघि नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जुन खेलमा नेपालले इराकसँग ६–२ को लज्जास्पद हार ब्यहोरेको थियो ।
मैत्रीपूर्ण खेलमा नेपालका लागि अञ्जन विष्ट र मनिष डाँगीले गोल गरेका थिए । यसअघि नेपालले विश्वकप छनोट चरणको पछिल्लो खेल २०१९ नोभेम्बरमा भुटानमा कुवेतसँग हारेको थियो ।
यी हुन् नेपाली फुटबल टोलीका सदस्य
प्रशिक्षक : अब्दुल्लाह अलमुतइरी
गोलरक्षक : किरणकुमार चेम्जोङ, विशाल सुनार, दीप कार्की ।
रक्षक : रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल, विकास खवास, गौतम श्रेष्ठ, दिनेश राजवंशी ।
मिडफिल्डर : मनीष डाँगी, सन्तोष तामाङ, पुजन उपरकोटी, आयुष घलान, सुमन लामा, सुरज जिउ ठकुरी, एरिक विष्ट, कमल थापा,सुनील बल, विशाल राई ।
स्ट्राइकर : अञ्जन विष्ट, अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा ।
व्यवस्थापक : मधुसुदन उपाध्याय ।
WRITE COMMENTS FOR THIS ARTICLE