लुम्बिनी प्रदेश सरकार संकटमा , विपक्षीले मागे राजीनामा

मुख्यमन्त्री पोखरेलको सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) की सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिए संगै लुम्बिनी प्रदेश सरकार फेरि पनि संकटमा परेको छ । रायमाझीले राजीनामा दिएपछि प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले बहुमत गुमाएको विपक्षी दलका नेताहरूले बताएका छन्। बहुमतका लागि ४२ जनाको समर्थन चाहिनेमा पोखरेलको पक्षमा ४१ सांसद छन्।
८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री पोखरेलको पार्टी एमालेका ३८ सांसद छन् भने जसपाबाट थप तीन जना मन्त्री उनको सरकारमा सहभागी छन्। प्रदेश सभामा एकल बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले त्यो हैसियत पहिले नै गुमाएका थिए। तर, जसपाका चार जना सांसदलाई मन्त्री बनाएर आफ्नो संकट तत्काललाई टारेका उनलाई रायमाझीको राजीनामाले संकट थपेको छ।
जसपाका संघीय सांसद मोहम्मद इस्तियाक राईले ‘नैतिकता बाँकी छ भने राजीनामा दिन’ मुख्यमन्त्री पोखरेललाई सुझाएका छन्। ट्वीटरमा रायमाझीको राजीनामा पत्र पोस्ट गर्दै उनले लेखेका छन्, “शंकर पोखरेलज्यू, अब त राजीनामा दिनुस्, केही लाज, शरम, नैतिकता बाँकी छ भने!”
प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुदिन खानले पनि मुख्यमन्त्री पोखरेलसँग अब बहुमत नरहेको भन्दै राजीनामा दिन माग गरे। “उहाँले शासन गर्ने वैधानिकता गुमाउनुभयो, सभामा उहाँसँग अब बहुमत रहेन। तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,” खानले भने।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक तुलराम घर्ती मगरले पनि मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएका छन्। “प्रदेश सभामा बहुमत गुमाएपछि पनि उहाँ पदमा टाँसिरहन मिल्दैन। तत्कालै राजीनामा दिनुपर्छ। त्यसपछि हामीले वैकल्पिक सरकार दिन्छौं।”
WRITE COMMENTS FOR THIS ARTICLE