यसकारण हामीले संसदीय मर्यादा नाघेर देउवाको पक्षमा दस्तखत गर्यौं

घनश्याम भुषाल
नेपालको राजनीतिमा भारत जहिले जोडिएर आएको छ, अभिन्न अंगका रूपमा रहेको छ । हाम्रा पूर्खाहरूले जहिले जहिले यो राष्ट्रको निर्माण गर्दै गए, अगाडि बढ्दै गए हिजोको भारत र आजको भारतसँग हाम्रो राष्ट्र निर्माणको प्रक्रिया जोडिएको छ ।
हामीले जहिले भारतको दबाबलाई झेल्न सक्यौं, तेहिले राष्ट्रलाई बलियो र सुरक्षित बनायौं । जहिले हामीले चाहिँ दबाब झेल्न सकेनौं, हाम्रा इतिहासका शासकहरूले घुँडा टेके हाम्रो राष्ट्रले शीर निहुर्याउनु पर्यो ।
सधैँभरी यस्तो हुँदै-हुँदै आइरहेको छ । भारत र नेपालका अन्तरविरोध अनि भारत र पश्चिमका अन्तरविरोध बुझ्नुपर्छ । अनि भारतका र चीनका फेरि अन्तरविरोध छन् । इतिहासका करिब ५ वर्षदेखि पछिल्लो ७० वर्षको द्वन्द्वको इतिहास पनि हामीले बुझ्नुपर्छ ।
यसले गर्दा पश्चिम र चाइनाको अन्तरविरोध, त्यसमा हामी चाइनका छिमेकी, त्यसमा हामी कम्युनिष्ट पार्टी, नेपाल र भारतको अन्तरविरोध, त्यसमा हामी कम्युनिष्ट पार्टी भएको हुनाले र भारतीय शासकसँग हाम्रा कतिपय अन्तरविरोधहरू भएकाले नेपालमा कम्युनिष्ट पार्टीका लागि सधैँभरी एउटा चुनौती छ ।
खासगरी एउटा बेलामा २००७ सालपछि अथवा चीनमा कम्युनिष्ट पार्टी गठन भएपछिको कुरामात्र होइन त्यो भन्दा अघिदेखि नेपालले चीनसँग पनि लडेको छ र भारतका रजौटाहरूसँग पनि लडेको छ । त्यो दौरानमा पनि नेपालमा यी प्रोसेसहरू उत्तर र दक्षिण जहिल्यै प्रतिस्पर्धी रहँदै आएका छन् ।
यो कुरा बुझिएन भने हामी अघि बढ्न सक्दैनौं । नेपालमा यति ठूलो कम्युनिष्ट पार्टी यत्रो जनमत भनेको ती शक्तिका लागि चुनौती थियो । र आज पनि यो उनीहरूका लागि चुनौती हो । नेपालमा साँच्चिकै लोकतान्त्रिक स्थिरता भनेको आफैंले आफ्नो निर्णय गर्ने क्षमता हो । त्यसलाई कमजोर पार्ने विभिन्न घटनाक्रमहरू हुन्छन्, भइराखेका छन् ।
अर्को कुरा, हाम्रोभित्रको कुरा छ । नेपालमा लामो समयदेखि कांग्रेस र हामीहरू प्रतिस्पर्धी शक्ति हौं । त्यसले गर्दा कांग्रेसले हामीलाई कमजोर पार्ने र हामीले कांग्रेसलाई कमजोर पार्ने एकदमै राजनीतिक कुरा हो ।
कांग्रेसको उदार पुँजिवादी दिशा हो भने कम्युनिष्टको दिशा समाजवाद हो । त्यसले गर्दा हाम्रा वैचारिक भिन्नता छन् । कांग्रेस र हाम्रो सम्बन्ध सधैँभरि प्रतिस्पर्धापूर्ण छ । त्यसकारण हामीलाई विभाजित गर्नु कांग्रेसले पनि सधैँ चाहिराख्ने कुरा भयो ।
हामीकहाँ अर्को एउटा फ्याक्टर पनि छ । विभिन्न कारणले गर्दा राजावादी शक्तिहरू, त्यो राजनीतिक रूपमा संगठित छैन । तर, एकखालको राजावादी सोच विचारहरू हाम्रो राजनीति र हाम्रो समाजमा छन् । ती शक्तिहरू पनि हामीलाई कमजोर पारेर त्यो खरानीमा आफ्नो रोटी सेक्न सकिन्छ भनेर दरबारीयाहरूले पनि सोच्ने कुरा हो ।
अहिले एउटा खास परिस्थिति बन्यो अस्ति एकीकृत भइसकेपछि नेकपा माओवादी अहिले छुट्टिएको छ । र, नेकपा माओवादी आफ्नो एलाइन्सका लागि पनि नेकपा (एमाले) भित्र विभाजन चाहन्छ ।
यी राजनीतिक कुरा हुन् । हामीले देखेरै चल्नुपर्छ । कोसँग कस्तो सम्बन्ध राख्ने भन्दा पनि हामीले देखेरै, जानेर अघि बढ्ने कुराहरू हुन् । यी शक्तिहरू हामीलाई फुटाउन चाहन्छन् ।
माओवादीको आफ्नो इन्ट्रेष्ट छ, माओवादीको र भारतको हाम्राप्रति हेर्ने कुरामा एउटै दृष्टि छ भन्न हुँदैन हामीले । विभिन्न कारणले, आ-आफ्ना इन्ट्रेष्टका कारणले कांग्रेस, राजावादी, माओवादी, भारतजस्ता शक्तिहरू नेकपा एमालेको विभाजन देख्न चाहन्छन् ।
अब अहिले के भयो भने, कम्युनिष्ट पार्टीमा नेकपा एमालेमा कमरेड ओली आउनुभयो । ओलीको त्यो अहंकार र दम्भमा सत्ता मिसियो । शक्ति र अहंकार मिलेपछि, त्यो अहंकारको रक्षाका लागि उहाँले जोसुकै माथि आक्रमण गर्नु हुने भयो । जस्तोसुकै अपराध गर्न उहाँ तयार हुनुभयो ।
उहाँले हिजो त्यो कारणले एकीकृत पार्टी फुटाउनुभयो र अहिले उहाँले फेरि नेकपा एमाले पनि फुटाउन चाहनुभएको छ । मैले कमरेडहरूलाई एउटा खतरातर्फ के इंगित गर्दैछु भने, हामीलाई विभाजित गर्न चाहने शक्तिहरू बाहिर त छँदैथिए । अहिले हामीभित्रै पनि, कम्युनिष्ट पार्टीभित्रै पनि, एमालेभित्रै पनि कमरेड ओलीजी थपिएपछि समस्या आज नेकपा एमालेको समस्या हो । यसलाई चानचुने समस्याका रूपमा नबुझौं ।
यसलाई ओलीजीसँगको हाम्रो अन्तरविरोध वा उहाँसँग नमिलेको कुरामात्र भनेर बुझ्नु हुँदैन । यो राष्ट्रले लोकतान्त्रिक स्थिरताका साथ विकास गर्न चाहने यो पक्रियामा आएको अवरोध हो भनेर बुझ्नुपर्छ ।
हामीकहाँ सामाजिक, सांस्कृतिक रूपमा जरा गाडेका पार्टी भनेको फेरि पनि कांग्रेस हो र फेरि पनि नेकपा एमाले हो । यी दुईटा पार्टी कमजोर भए भने राष्ट्रिय मामिलामा खतरा आउँछ ।
कांग्रेस कमजोर भयो भने र एमाले बलियो भयो भने पनि राष्ट्र कमजोर हुँदैन । एमाले कमजोर भएर कांग्रेस बलियो भयो भने पनि त्यो खतरा रहन्न । तर दुवै शक्ति कमजोर भयो भने लोकतान्त्रिक स्थिरता कमजोर हुन्छ र राष्ट्र कमजोर हुन्छ ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा राष्ट्र बनाउने हाम्रो उद्देश्य हो । त्यसो गर्दा आज नेकपा एमाले कमजोर हुनु भनेको नेपालको समाजवादको र समृद्धिको भविष्य कमजोर हुने हो । यसका जराजुरी उखेलिने, नेकपा एमाले कमजोर हुने भनेको यसका जराहरू कमजोर हुने हो ।
हामी एमालेको एकता बचाउन चाहन्छौं भन्नुको अर्थ राष्ट्रको एकता बलियो बनाउन चाहान्छौं भनेको हो । तर, यो एकताको बारेमा चुनौती छन् ।
हामीले गएको चैत ४ र ५ गते जुन निर्णय गर्यौं हामी, आत्मसमर्पण गर्दैनौं र विभाजन पनि चाहदैनौं भन्नुको मर्म यहाँनेर छ । हामीले यसलाई बुझेनौं भने मान्छेले उही नेकपा एमाले न भाले न पोथी भनेर वैद्यजीहरूले टिप्पणी गरेको पनि देखेको छु ।
तर, यो मर्ममा आधारित कुरा के हो भने चैत ४ र ५ गते हामीले निर्णय गरेको भनेको हामी समर्पण पनि गर्दैनौं र विभाजन पनि गर्दैनौं । किनभने समर्पण गर्ने भनेको ओलीजीको अहंकारको अगाडि समर्पण हो । कुनै लोकतान्त्रिक विचारका अगाडि समर्पण गर्ने होइन ।
यो पार्टीलाई कब्जा गर्ने, सत्ताका लागि जे पनि गर्दिने, जहाँसुकै जाने । पछिल्ला दिनमा असोज ५ गते जुन दिन उहाँले योगललाई भेट्नुभएको थियो, त्यसपछि एकपछि अर्का उहाँका कदमलाई एउटा श्रृंखलामा हेर्नुहुन्छ भनेदेखि उहाँले के को सेवा गरिरहनुभएको छ भन्दाखेरि हिजो संविधान जारी हुन नदिने शक्तिहरूले पाँच-पाँच महिनासम्म हामीलाई नाकाबन्दी गरे । पछि तीनै शक्तिको उक्साहटमा लागेर ओलीजीले अस्तिनै पुस ५ गते संसद विघटन गराउनुभयो ।
अहिले फेरि अस्ति उहाँले विघटन गराउनुभएको छ र यसलाई हामीले त्यो असोज ५ गतेदेखिकै प्रक्रियामा र त्यो सिलसिलामा हेर्नुपर्छ । यो पार्टी एकतालाई उहाँले विभाजन गर्न जाँदै हुनुहुन्छ, यो कारण हामीले उहाँको विरोध गरेको हो । कमरेड ओलीको विरोध गरेको अरु कारणले होइन ।
चारजना आफ्ना चाकरलाई राजनीतिक नियुक्ति खुवाउनुभयो, संवैधानिक नियुक्ति खुवाउनुभयो होला । यसप्रति हाम्रो विरोध उहाँले विधि मिचेर यो सब गर्नुभयो भनेर त्यसका प्रतिमात्र असन्तुष्टि होइन । उहाँले खतरनाक दिशातर्फ मुलुकलाई धकेल्दै हुनुहुन्छ ।
उहाँले मुलुकलाई खतरनाक मोडतर्फ किन धकेल्दै हुनुहुन्छ भने, एउटा सानो गुटको हितका लागि, त्यसलाई पालनपोषण गर्नका लागि र आफ्नो अहंकार र सत्ताको अभ्यास गर्नका लागि उहाँले यो सबै काम गर्दै हुनुहुन्छ ।
आज हामी कहाँ छौं भन्दा नेकपा एमालेमा छौं । ओलीजीको विरोध गर्दैछौं । उहाँलाई सीमित गर्न सकेनौं भने, उहाँलाई प्रक्रिया र विधिभित्र हाल्न सकेनौं भने यो पार्टी एक रहदैन । विधि मान्ने कुराले सबैलाई एक ठाउँमा जोड्छ । विधिलाई कमजोर पारियो भने एमाले कमजोर हुन्छ ।
विधिमा सहमति भएन भने एमाले विभाजित हुन्छ । हामी विभाजित भयौं भने राष्ट्र कमजोर हुन्छ, हामीलाई फुटाउने शक्तिहरू बलिया भएर जान्छन् । त्यसले गर्दा हामी एमाले एकताको पक्षमा छौं । हामी आत्मसमर्पण गर्दैनौं भन्नुको अर्थ विधिको रक्षाको पक्षमा छौं ।
विधिको रक्षा गर्दै हामी नेकपा एमालेको रक्षा चाहन्छौं । यसको एकताको रक्षा गर्न चाहन्छौं । विभाजन त्यसकारण हामीले नचाहेको हो । त्यसले गर्दा हामीले अन्तरसंघर्ष भनेका हौं ।
बाहिरबाट हेर्दा न विभाजन न आत्मसमर्पण भन्ने कुरा अलि गहिराइमा हेर्दा नबुझिए पनि यसको मर्म एकता नै हो । यो प्रक्रियामा के भएको छ भन्दा म कमरेडहरूसँग प्राइभेट्ली भन्छु, हामीभित्रकै कुरा हो । हामीले संसदीय मर्यादा उल्लंघन गर्यौं ।
संसदमा उपस्थित नहुने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दस्तखत गर्ने, मुद्दा मामिलामा सँगै जाने अवस्था समेत आयो । यस हिसाबले आज एमाले एक ठाउँमा छैन, भर्चुअल्ली पार्टी फुटिसकेको छ । पार्टीलाई कमरेड ओलीले त्यो ठाउँमा पुर्याइदिनु भएको छ ।
जहाँ हामीले संसदीय मर्यादाहरू समेत उल्लंघन गर्नुपर्ने ठाउँमा किन पुग्यौं भन्दा उहाँले मुलुकलाई निरन्तर अरुले चाहे जस्तो, वैदेशिक शक्तिले चाहेजस्तो, अर्को कुनै पार्टीले चाहे जस्तो विभाजनको दिशामा निरन्तर लगि राख्नुभयो भयो ।
पछिल्लो बेला त हामीले देउवालाई प्रधानमन्त्री बनाउन पनि गयौं । यसमा धेरैको टिप्पणी छ, धेरैले सोधिराख्नुभएको छ यसको औचित्य के हो भनेर । यो हामीले हामीभित्रका सीमाहरूलाई उल्लंघन गरेर मुलुकको संविधान बचाउन खोजेका हौं । सबै कुरा त्याग गरेर, सबै कुरा बलिदान, दाउमा राखेर संविधान र संसद बचाउन खोजेका हौं ।
किन यस्तो भयो भने, यदि यो संविधान हिड्यो भने हाम्रो शान्ति, स्थिरता हिड्छ । लोकतान्त्रिक स्थिरताका साथ मुलुकले विकास गर्ने चाहनामाथि आक्रमण हुँदैछ । हिजो पनि भयो, अहिले पनि हुँदैछ । संविधान र संसद जोडिएका छन्, यसको बारेमा म धेरै लामो कुरा गर्दिन ।
हाम्रा यी प्रयत्नले यदि संसद जोगिन्छ र संविधान ट्र्याकमा आउछ भने हाम्रो एकताको हिसाब-किताब गर्दै गरौंला । हामीले आत्मालोचना गरौंला, मूल्यांकन गरौंला, माफी मागौंला, कारवाही भोगेर भने पनि जाउँला । हामी त्यो तत्परताका साथ संविधान र संसद जोगाउनका लागि अगाडि गएका छौं । मुद्दाको हिसाबले बलियो मुद्दा छ, हामीले जित्ने मुद्दा छ ।
सेटिङले मात्र हराउन सक्छ भनेर हामीले अस्ति नै पनि भनेका थियौं । आज पनि पनि त्यो साँचो हो । पहिलो मुद्दामा सेटिङले हार्यो । बीचमा दुईटा पार्टीलाई छुट्याउने कुरामा नांगो तरिकाले न्यायाधीशहरू समेत संलग्न भएर हामीलाई विभाजित गरिदिए । यो त्यही षडयन्त्र हो, बाहिरको समेत षडयन्त्रमा कम्युनिष्ट पार्टीलाई फुटाइएको थियो भन्ने कुरामा हामीले राखेर जानुपर्छ ।
र, अहिले फेरि यसलाई फुटाउन खोजिएको छ । हामी संसदलाई ट्र्याकमा राख्न, संसदलाई बचाउन केही समय लिन खोजेका छौं । त्यो समय पार्टी एकताका लागि पनि समय रहनेछ ।
नेकपा एमालेको सारा परिवारलाई ओलीजीले के गरिरहनुभएको छ भन्ने कुरा बताउनका लागि पनि हामीलाई समय चाहिएको छ । रणनीतिक हिसाबले हाम्रो संविधानको रक्षा गर्ने, रणनीतिक हिसाबले संसदको रक्षा गर्न र राजनीतिक हिसाबले जनतालाई, पार्टी पंक्तिलाई बताउनका लागि पनि केही समय चाहिएकाले हामी यो ठाउँमा पुगेका छौं ।
यो संसद ब्युँतिन्छ । यदि ब्युँतिदै ब्युँतिएन भने यसका विरुद्ध कसरी लड्ने हो यो मुद्दा फैसला हुँदा हामीलाई हराइयो भने यो डरलाग्दो अवस्था हुनेछ । त्यसलाई हामी त्यही बिन्दुमा हाम्रो लडाइँ जारी राख्ने छौं । पार्टी एकताको कुरा हामी त्यस अर्थमा गरिरहेका छौं ।
कमिटीका हिसाबले त ओलीजीले पार्टी फोडिसक्नुभयो । प्रक्रियाका हिसाबले फोडि नै सक्नुभएको छ । एउटा भावनात्मक हिसाबले एमाले परिवार, एमाले पंक्ति भन्ने चिज बाँकी छ । हो त्यो पंक्तिलाई हामीले बताउनुपर्नेछ । हामीले मात्र ओलीजी खराब भन्ने बुझेर पुग्दैन, त्यो पंक्तिले पनि बुझ्नुपर्छ । त्यसका लागि नि हामीलाई समय चाहिएको छ ।
अर्को कमिटी बनायौं, अर्को पार्टी दर्तै गर्यौं भने पनि हामी एकताको पक्षमा अगाडि जानेछौं । हामी घाइते भएका छौं, हाम्रो मुभमेन्टले दुःख पायो, हामीलाई धेरै चोट लागेको छ । तर, हामी अन्तिमसम्म पनि यसको उपचार गर्ने र फेरि कम्युनिष्ट पार्टीलाई एकताबद्ध पार्ने अभियानमा जान्छौं ।
(माधव नेपाल पक्षीय जनसांस्कृतिक महासंघको भर्चुअल बैठकमा भुसालले गरेको सम्बोधनको सम्पादित अंश)
WRITE COMMENTS FOR THIS ARTICLE