मेडिकल माफियासँग सचेत रहन डा. केसीको सुझाव सहित देउवा सरकारलाई पाँचबुँदे माग

Home | Hamro Biratnagar

डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मेडिकल माफियाको प्रलोभनमा नपर्न सुझाव दिएका  छन्  ।पत्रकार सम्मेलन गरी डा. केसीले मेडिकल माफियाहरूले सरकारलाई आफ्नो प्रलोभनमा पार्न सक्ने भएकाले सचेत रहन सुझाव दिएका  ।

‘नेपालमा मेडिकल माफियाहरूले सत्ता फेरिएसँगै नयाँ सरकारलाई आफ्नो प्रलोभनमा पार्ने गरेका छन् । अहिलेको सत्तारुढ दलनिकट माफियाहरूको चलखेल पछिल्लो समय बढेको छ । देशका धेरै निजी मेडिकल कलेजहरूलाई मुठ्ठीभर आपराधिक पृष्ठभुमिका माफियाहरूले लिने क्रम चलिरहेको छ,’ उनले भनेका छन्, ‘गत चुनावमा उनीहरूमध्ये केहीले मुख्य पार्टीहरूका तर्फबाट चुनावमा टिकट समेत पाएका थिए । नयाँ सरकारलाई हामी प्रष्ट भाषामा चेतावनी दिन चाहन्छौंः अपराधी र माफियाहरूको कुनै राजनीतिक दल वा विचार हुँदैन । उनीहरू जोसुकैको नजिक भए पनि दण्डित हुनुपर्छ ।’

डा. केसीले मेडिकल माफियाहरूसँग खर्च लिएर पार्टी चुनाव लड्ने हो भने देशको स्वास्थ्य र मेडिकल शिक्षा त कहिल्यै उँभो नलाग्ने पनि बताएका छन् । उनले मेडिकल माफियाको चंगुलमा फस्दा भ्रष्टीकरण र अपराधीकरण झनै मौलाएर जाने पनि चेतावनी दिएका छन् ।

पाँचबुँदे माग अघि सार्दै डा. केसीले आफूसँग सरकारले पटक–पटक गरेका सम्झौता पनि कार्यान्वयन गर्न भनेका छन् । उनले चिकित्सा शिक्षा ऐनको सम्झौताको संशोधन गर्दा आयोगका अध्यक्षपाँ प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गर्न पनि माग गरेका छन् ।

डा. केसीले कोभिड महामारीको दोस्रो लहर अझै पूर्ण रुपमा नसकिएको तथा तेस्रो लहरको जोखिम कायमै रहेकाले परीक्षण, भ्याक्सिन वितरण र उपचारको पर्याप्त व्यवस्था गर्न सरकासँग माग गरेका छन् ।

डा. केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरू पूरा गरेर संस्था सुधारलाई अघि बढाउनु पनि माग गरेका छन् । ‘जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गरिनुपर्छ । त्यसपछि बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा पदाधिकारी मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार नयाँ पदाधिकारी नियुक्त गर्नुपर्छ । त्यसका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्छ,’ उनले भनेका छन् ।
डा. केसीले पूर्ववर्ती सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने तथा भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कारबाही गर्न पनि माग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE