मूर्ख मानव (कविता) -श्रेया अर्याल

-श्रेया अर्याल
मूर्ख मानव
आँगनको डिलमा दगुरिरहेछन् तँछाडमछाड गर्दै
एक लहर कमिलाका ताँती
मलामीले मान्छेको काँध चरप्प समातेझैँ
एउटा गह्रौं फट्यांग्रो बोकेर भागिरहेछन् पछिपछि
पछ्याउँदै छ एक हुल, एक जमात र एक ताँती
अगाडिको कमिलोले बाटो अल्मलियो भने सबै अल्मलिन्छन्
रोकियो भने छटपटाउँछन्, फर्किए सँगै फर्किन्छन्
अलमलिन्छन् यसरी कि उनीहरु पुग्ने ठाउँ निश्चित छैन
छटपटाउँछन् यसरी कि कतै पुग्न हतार भइसक्यो
पर्खिन्छन् यसरी कि ऊ जहाँ पुग्यो गन्तव्य त्यही हो उनीहरुको
यो प्रष्ट हो कि उनीहरु प्रभावित छन् र संचालित छन्
लाग्छ हामी पनि कमिलाकै एक ताँती हौँ
आखिर कसले संचालन गरिरहेछ हाम्रो जीवन
मैले कमिलालाई सोचेझैँ हामीलाई पनि हेर्दै कोही सोचिरहेछ
अनि मुस्कुराँउदै भनिरहेछ, हे मूर्ख मानव !
तिमीमा र कमिलामा के नै फरक रह्यो?
-अर्याल नेशनल ल कलेजमा बिएएलएलबी तेश्रो सेमेस्टरमा अध्ययनरत छिन् ।
WRITE COMMENTS FOR THIS ARTICLE