माधव र उपेन्द्रले राष्ट्रपतिलाई भने–हामी हस्ताक्षर सहित यहीं छौं, केपीको दाबी नाजायज छ ।

काठमाडौँ — नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६(५) अनुसार सांसदको अधिकार प्रयोग गरेर हस्ताक्षरसहित आफूहरु आएको भन्दै केपी ओलीको दाबी नाजायज भएको राष्ट्रपतिसँग बताएका छन् ।

१४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा ओलीको पनि दाबी आएको बताएकि थिइन् । त्यसलगत्तै नेता नेपाल र अध्यक्ष यादवले आफूहरु हस्ताक्षरसहित आएको भन्दै ओलीको दाबी सही नभएको बताएका थिए ।

‘हामीले ७६(५) अनुसार आएका छौं । प्रधानमन्त्रीको दाबी कसरी सही हुन सक्छ ? हामी यही त छौं । ७६(५) अन्तर्गत सांसदहरुले प्रयोग गर्न पाउने अधिकारअनुसार हामीले हस्ताक्षर गरेका छौं,’ नेपालको भनाइ उद्र्धत गर्दै नेता नारायणकाजी श्रेष्ठले भने ।

अध्यक्ष यादवले पनि आफू हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नै आएको भन्दै ओलीको दाबी सही नभएको बताएका थिए । ‘म यही छु । महेन्द्र यादव पनि यहीं हुनुहुन्छ । अरु सांसदहरु पनि बाहिर हुनुहुन्छ । अनि कसरी ओलीको दाबी सही हुन्छ ?’ यादवले राष्ट्रपतिसमक्ष भनेका थिए ।

‘राष्ट्रपति त्यसको जवाफ दिनुभएन । कानुन हेर्छु भन्नुभयो,’ श्रेष्ठले भने ।

बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु राष्ट्रपति कार्यालय पुग्नुअघि प्रधानमन्त्री ओली पुगेका थिए । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले एमालेको १२१ र ३२ सांसद रहेको जसपाको समर्थन आफूलाई रहेको पत्र बुझाएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE