माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ। बुधबार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलगायत नेताहरु संसद् सचिवालयमा पुगेर समर्थन फिर्ताको पत्र दर्ता गराएका हुन्।
‘सर्वोच्च अदालतको फागुन २३ को निर्णयपश्चात् ३० दिनभित्र विश्वासको मत लिनपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएको छ। अतः नेकपा (माओवादी केन्द्र) को निर्णय र नेकपा (माओवादी केन्द्र) संघीय संसदीय दलको निर्णयअनुसार केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी गराउँदछु,’ माओवादी केन्द्रका अध्यक्षको हस्ताक्षर रहेको पत्रमा भनिएको छ।
प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको, लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रुपमा निकृष्ट ढंगबाट सञ्चालन गरिरहेको माओवादीकाे आराेप छ।
त्यसैगरी, निर्वाचनमा जनताले दिएको जनादेशविपरीत सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई ध्वस्त बनाएको बताउँदै पत्रमा नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको उल्लेख छ।
कोरोनाको दोस्राे लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाएर देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत हुँदै गइरहेको आरोपसमेत लगाइएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE