महाकाली नदीमा बाढी, पानीको सतह खतरा तह नजिक

महाकाली नदीमा बाढी आउने क्रम बढ्दै गएको छ। अहिले पानीको सतह खतरा तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, शनिबार साँझ ५ः३० बजे डडेल्धुराको परीगाउँ नजिक खतराको तह नजिक पुगेको हो। महाकाली नदीमा परीगाउँ जलमापन केन्द्रले पानीको बहाव सतर्कता तह पारेको देखाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार, ५ः३० बजे महाकालीमा पानीको बहाव ६.२ मिटर पुगेको छ। परीगाउँमा ५.८० मिटरलाई सतर्कता तह र ७ मिटरलाई खतरा तह मानिएको छ।
महाकाली नदीको जलाधार क्षेत्रमा वर्षा भइरहेको छ। अझै वर्षा हुने पूर्वानुमान गरिएकाले पानीको सतह बढ्नसक्ने जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले महाकाली नदीको तल्लो तटीय क्षेत्र डुबानमा पर्नसक्ने जनाएको छ। सतर्कता अपनाउन अनुरोध गरेको छ।
शनिबार बिहानदेखि नै महाकाली नदीको पूर्वी किनारमा कटान भइरहेको छ। त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का १५ घर डुबानमा परेका छन्। नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी गाउँ पसेको हो।
खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिए। “बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ। त्यतिबेला कसैले सुनेनन्,” उनले भने, “अहिले गाउँ नै डुबानमा पर्यो।”
महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए। नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरू गरेको छ। अहिलेसम्म बाँधमा झन्डै १० मिटर कटान गरिसकेको छ। कटान नियन्त्रण गर्न आपत्कालीन तटबन्धको काम थालिएको छ।
तारजालीमा ढुङ्गा भरेर कटान रोक्ने प्रयास भइरहेको पिके निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेले जानकारी दिए। भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले सडक भत्किएपछि आवतजावत बन्द भएको बताए।
WRITE COMMENTS FOR THIS ARTICLE