भेरी अस्पताल घटनाः आक्रमणकारीलाई ज्यान मार्ने उद्योगमा मुद्दा

 

नेपालगञ्ज – डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले डिउटीमा खटिएका डाक्टर र नर्समाथि हातपात गरेका थिए।

बाँके प्रहरीले तिनै जनालाई राती नै नियन्त्रणमा लिएको थियो। प्रहरीले शुक्रबार तिनै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले जानकारी दिए।

आक्रमणकारीले विरामीलाई ल्याएदेखि नै मुख्यमन्त्रीको पावरको कुरा गर्दै डाक्टर र नर्सलाई धम्क्याउने गरेको उपचारमा संलग्न डाक्टर चन्द्रप्रकाश साहुले बताए।

कोरोना संक्रमित विरामीको मृत्यु भएपछि रावतत्रयले डिउटीमा रहेका डाक्टर र नर्सको घाटी अठ्याउनुका साथै लखेटी लखेटी हातपात गरेका थिए। डाक्टर र नर्स झ्यालबाट हाम फालेर भागेका थिए।

घटनापछि भेरीमा डाक्टर र नर्स आन्दोलनमा उत्रिएका थिए। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राती सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन्। समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरे काम थालेको छ।

आक्रमणकारीलाई मुद्दा दर्ता, अस्पतालमा सुरक्षा व्यवस्था मजबुत गराउने प्रतिवेदनपछि आन्दोलन रोकिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE