भविष्यमा आउन सक्ने तेस्रो वेभको कोभिड महामारीलाई ध्यानमा राख्दै तयारी गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले भविष्यमा आउन सक्ने तेस्रो वेभको कोभिड महामारीलाई ध्यानमा राख्दै गम्भीरतापूर्वक पूर्व तयारीमा रहन निर्देशन दिएका छन् । शनिबार वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गरे । उनले भने– ‘अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पुरा गर्नुस् । कोभिड अस्पतालको रुपमा रहेको यो अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्नुस् । सरकारले देखिनेगरी सबै पूर्वाधार तयारी गरिसकेको छ ।’
मन्त्री श्रेष्ठले सबै बिरामीको निशुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न निर्देशन दिए । ‘यो अस्पताल सबै नेपालीको हो, यसको बिस्तार र विकासको लागि सरकारले सबै सहयोग गर्नेछ’ मन्त्री श्रेष्ठले भने । उनले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिए ।
सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो । हाल सो अस्पतालले सय बेडको आइसियु सञ्चालन गरिरहेको छ । बाँकी सय वेड आइसियु सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालका निर्देशक डा. गौतमले जानकारी दिए ।
त्यस्तै स्वास्थ्यसचिव अर्यालले मन्त्रालयले युनिफाइड अस्पताललाई सबै सहयोग गर्ने जानकारी गराए । उनले तेस्रो वेभलाई मध्यनजर गरी सबै तयारी थालिएको समेत बताए । कार्यकारी निर्देशक डा.गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE