बाढीले सुपर मादी हाइड्रोमा १ अर्ब बढीको क्षति

 

पोखरा : निर्माणको अन्तिम चरणमा पुगेर यसै वर्ष बत्ती बाल्ने तयार गरिएको कास्कीको मादी खोलामा निर्माणाधीन सुपर मादी (४४ मेगावाट) जलविद्युत् आयोजनालाई अस्तिदेखि परेको पानीका कारण आएको बाढीले एक अर्ब रुपैयाँभन्दा बढी क्षति भएको छ । चारवटा एक्स्याभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत् गृह पुरिएको, भए भरको निर्माण सामग्री बगाएको, मुहान संरचनामा क्षति पुगेको र प्रारम्भिक अनुमान अनुसार एक अर्ब रुपैयाँभन्दा बढी क्षति भएको सुपर मादी हाइड्रोपावर लिमिटेडका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । विद्युत्गृहमा शत प्रतिशत क्षति पुगेको छ, पुरिएर ।

जमिनभन्दा १० मिटर तल रहेको विद्युत्गृह सबै पुरिएको छ । उक्त विद्युत् गृह जमिनको सतहमा आउनै लागेको थियो । अध्यक्ष ढुंगानाका अनुसार आयोजनाको इलेक्ट्रो–मेकानिकल (इएम) का ओभरहेड क्रेन, साइडल केसहरु लगायतका सबै सामानहरु बाढीले बगाएको छ । दुईवटा ब्याचिङ प्लान्ट, क्रसर, निर्माण सामग्री, डण्डी, सिमेन्ट, गिटी, बालुवा गरी ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको ढुंगानाले बताए । इएमका सबै सामान साइटमा ल्याइसकिएको थियो ।  ‘इएमतर्फ ओभरहेड क्रेनसम्म राख्ने  सबै सामान आयोजना निर्माणस्थलमा आइसकेको थियो,’ ढुंगानाले बुधबार टेलिफोनमा  भने, ‘इएमको ५० प्रतिशत काम पूरा भइसकेको थियो, अब के बगायो, के बगाएन, भन्न सकिने स्थिति नै रहेन ।’

 

सिभिल ठेकेदारको २५ देखि ३० करोड रुपैयाँसम्मका विभिन्न यन्त्र उपकरणहरु बगाएको छ । यसअन्तर्गत ब्याचिङ प्लान्ट, क्रसर, एक्सक्याभेटर, ह्विल लोडेर र ट्रिपरहरु बगेका छन् । आयोजनाको सिभिलतर्फ ८० प्रतिशत काम पूरा भइसकेको थियो । त्यसैगरी हाइड्रो–मेकानिकलतर्फको ठेकेदारका पेनस्टक पाइप, रेडियल गेटहरु बाढीले बगाएको छ । यसै वर्ष बिजुली बाल्ने गरी धमाधम प्रसारण लाइनका काम पनि भइरहेका थिए । टावर गाड्नका लागि तयार पारिएका सबै सामान पनि बाढीले बगाएको छ ।

यता मुहानतर्फ हिजो मंगलबारसम्म २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको आकलन गरिएको अध्यक्ष ढुंगानाले बताए । हेडवक्र्समा राखिएका गिटी, बालुवा, सिमेन्ट, रड सबै बगाए । ‘हाम्रो नियन्त्रणमा थिएन, हामी मान्छेको ज्यानलाई सुरक्षित गर्नेतिर लाग्यौं,’ अध्यक्षले बताए ।

त्यसैगरी विद्युत्गृह र हेडवक्र्सको लेबर क्याम्प पूरै बगाएको छ । हेडवक्र्स क्याम्पमा २५० जना मजदुर बस्थे भने विद्युतगृहमा सय जना । उनीहरुमध्ये एक सय पचासजनालाई आयोजनाकै तलतिरको क्याम्पमा सुरक्षित राखिएको र सय जना मजदुरलाई आयोजनास्थल नजिकको एक विद्यालयमा सारिएको ढुंगानाले बताए ।साढे सात अर्ब रुपैयाँ लागत रहेको सुपर मादीमा साढे पाँच अर्ब रुपैयाँ खर्च भइसकेको अध्यक्ष ढुंगानाले बताए ।

 

facebook sharing button
twitter sharing button
messenger sharing button
linkedin sharing button
sharethis sharing button

WRITE COMMENTS FOR THIS ARTICLE