प्रधानमन्त्री देउवालाई माधव नेपालले भने – सरकारलाई टिकाउन विश्वासको मत दिन्छौं

३० असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।

देउवा प्रधानमन्त्री भएको भोलिपल्ट बुधबार सरकार गठनमा निर्णायक भूमिका नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका थिए । भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो समूहका सांसदहरुले विश्वासको मत दिने आश्वासन दिएका छन् ।
एमालेबाट संस्थागत निर्णय हुन सकेन भने पनि सांसदहरुले स्वतन्त्र रुपमा विश्वासको मत दिएर संसद र सरकारलाई टिकाउने नेता नेपालले प्रधानमन्त्री देउवालाई आश्वस्त पारे ।

नेता नेपालले आफ्नो समूहका नेताहरुलाई सुनाएअनुसार प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचारसहित बनाउन र जनभाजना अनुसार काम गर्न सुझाव दिएका छन् । ‘उहाँले हामी तपाईलाई विश्वासको मत दिन्छौं भनेँ भन्नुहुन्थ्यो’, भेटमा सहभागी नेता राजेन्द्र पाण्डेले भने ।

सर्वोच्चको फैसलाअनुसार २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदको समर्थन पाएका देउवालाई विश्वासको मत पाउन एमाले वा जसपाको महन्थ ठाकुर पक्षको मत चाहिन्छ । यदि देउवाले विश्वासको मत पाएनन् भने संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन भएर मध्यावधि चुनाव घोषणा हुन्छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE