पूर्वमन्त्री श्रेष्ठविरुद्ध मुद्दा दर्ता गराई निष्पक्ष छानबिन गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले जातीय विभेद आरोपी सरस्वती प्रधानलाई छुटाउन पुगेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरी निष्पक्ष छानबिन गराउन आदेश दिएको छ । रूपा सुनारले सरस्वती प्रधानविरुद्ध दर्ता गरेको रिटमा न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।
‘निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र उनी हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी श्रेष्ठ उपस्थित भइ हिरासतबाट निजलाई मन्त्रीको सवारी साधनमा लगी गएको भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले कृष्णगोपाल श्रेष्ठ विरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू गराउनू’ आदेशमा भनिएको छ ।
केही समयअघि रूपा सुनार प्रकरणको मुद्दालाई प्रभावित पार्ने ढङ्गले पूर्वमन्त्री श्रेष्ठ सरकारी गाडीमा प्रहरी कार्यालय पुगेर प्रधानलाई छुटाएका थिए । सोहीबारेको मुद्दा पुनः दर्ता गराई निष्पक्ष छानबिन गराउन सर्वोच्चले आदेश दिएको हो ।
त्यस्तै, रूपा सुनारको जिउज्यानको सुरक्षा गराउन पनि सर्वोच्चले प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । उनको पक्षमा वकालत गरेका कानुन व्यवसायीले इजालासमा उनको जिउज्यान असुरक्षित रहेको जानकारी गराएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो । र, सो कुरा कार्यान्वयन भएको/नभएको बारे अनुगमन गर्न मानवअधिकार आयोगलाई भनेको छ ।
आमसञ्चार माध्यमलाई अनुसन्धान प्रभावित गर्ने र सद्भाव भड्काउने खालका सामग्री प्रसारण नगराउन पनि अदालतले ध्यानाकर्षण गराएको छ । यसको कार्यान्वयन गर्न सर्वोच्चले प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई भनेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE