नेपाल पक्षको निर्णयः सामूहिक राजीनामा दिने निर्णय -२० जनाको सामूहिक हस्ताक्षर

 

काठमाडौँ- अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा निरन्तरता दिनु भन्दा अन्ततः सामूहिक राजीनामा दिने निर्णयमा नेकपा एमाले  माधवकुमार नेपाल पक्षका सांसदहरु पुगेका छन्।

योसँगै ओलीले आगामी २७ गते लिन लागेको विश्वासको मतमा नेपाल पक्षको साथ जुटाउन गरेका सबै प्रयास असफल भएका छन्। शनिबार सातदोबाटोमा करिव ६ घण्टा छलफल गरेपछि यो पक्ष ओलीलाई साथ दिनुभन्दा सामूहिक राजीनामा दिनु उपयुक्त हुने निर्णयमा पुगेको हो।

नेपाल पक्षका सांसद झपट रावलका अनुसार आजको छलफलमा प्रत्येक्षतर्फका २० जना सांसदहरुले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी नेता माधवकुमार नेपाललाई बुझाएका छन्। बाँकी केही प्रत्यक्षतर्फका सांसदहरुले पनि राजीनामा बुझाउने छन्। राजीनामा दिनेमा नेपाल पक्षका समानुपातिक सासंदहरु पनि पर्ने छन्।

रावलले  भने,‘ओलीले हाम्रो माग र अडानको अपमान गर्नुभयो। उहाँले यसैपनि सत्ता जोगाउन हामीलाई कारवाही गर्ने तयारी नै गर्नु भएको छ। अब उहाँलाई साथ दिन सक्ने अवस्था छैन। त्यसैले सामूहिक राजीनामा दिने निर्णय भएको हो।

उनका उनुसार यो सामूहिक राजीनामा भोली नै संसदमा बुझाइने छ। नेपाल पक्षले ओलीलाई पुनः प्रधानमन्त्री बनाउनुपर्ने र कारबाही पनि भोग्नु पर्ने अवस्था आउन लागेकाले सामूहिक राजीनामा दिन तयार भएको रावलले बताए।

उनले भने,‘ओलीले हामीलाई एमाले हुन दिनु भएन। त्यसबाट हामी निकै अपमानित भएका छौँ। नेपालको संसदीय इतिहासमा पहिलो पटक यस्तो निर्णय लिन हामी बाध्य भएका हौँ।’

यता ओली नेपाल पक्षले साथ नदिने अवस्था आएमा उनीहरुलाई सांसद पदबाट निस्कासन गर्ने मामिलामा तयार भएको स्रोतहरुले दाबी गर्दै आएका छन्। तर नेपाल पक्षले एमाले एकताका लागि अन्तिम प्रयासबाट भने नचुक्ने निर्णय गरेको छ।

फागुन २३ मा सर्वोच्च अदालतले ब्यूँताएको एमालेमा ओलीले फागुन २८ गते नेपाल पक्षका सबै पदाधिकारीलाई जिम्मेवारीबिहिन अवस्थामा पुर्याएका थिए।

त्यसको विरोधमा नेपाल पक्ष तत्कालै उत्रिएको थियो। तर नेपाल पक्षबिनाका बैठकहरुबाट ओलीले महाधिवेशन आयोजक कमिटी बनाउने, विधान संशोधन गर्नेदेखि लिएर दर्जनौँ निर्णय गरेका थिए। त्यसको विरोधमा नेपाल पक्षले मुलुकभर समानान्तर कमिटी गठन, भेला र कार्यक्रमहरु गर्दै आएको थियो।

तर आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै नेपाल पक्ष फकाउने नीतिमा ओली उत्रिएका थिए। त्यसका लागि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसहित आफ्ना विश्वासपात्र दोस्रो तहका नेताहरुलाई खटाएका थिए। ओलीपक्षसँगको वार्तामा नेपाल पक्षका पनि दोस्रो तहका नेताहरु बसिरहेका थिए।

तर ती वार्ताहरुमा नेपाल पक्षले आफ्ना माग र अडान ओलीले संवोधन नगर्ने निष्कर्ष निकाल्दै सामूहिक राजीनामा दिने निर्णयमा पुगेको हो। यो बीचमा प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको उच्च तहमा पनि नेपाल पक्षको छलफल भएको थियो।

यो सँगै ओलीले आफ्नो सत्ता बचाउन आगामी २ दिनभित्र कठोर कदम लिन सक्ने आंकलन बढेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE