नेपालसहित १६ एसियाली देशलाई ७० लाख डोज खोप दिने अमेरिकाको घोषणा

The Story Behind the American Flag

काठमाडौं ।
संयुक्त राज्य अमेरिकाले नेपालसहित १६ एसियाली देशलाई ७० लाख डोज कोरोनाभाइरसविरुद्धको खोप दिने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार राष्ट्रपति जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड–१९ भ्याक्सिन सहयोगको घोषणा गरेका हुन् ।

गत सोमबार राष्ट्रपति बाइडेनले विश्व समुदायलाई दिने खोपमध्ये फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनको गरी कुल दुई करोड तथा अस्ट्राजेनेकाको छ करोड डोज खोप विभिन्न देशलाई वितरण गर्ने खुलाएका थिए । उक्त खोप कुन कुन देशलाई दिने भन्ने फ्रेमवर्क बिहीबार सार्वजनिक गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार जनाएका थिए । सोहीअनुसार ह्वाइटहाउसले बिहीबार देशहरु तोकेर पहिलो चरणमा दिने खोपको मात्रा निर्धारण गरेको हो ।

घोषित ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र पेसिफिक आइल्यान्डले पाउनेछन् । यद्यपि कुन देशले कति पाउने भन्नेचाहिँ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले उल्लेख गरेको छैन ।

बाइडेन प्रशासनले पहिलो साढे दुई करोड डोज खोप विश्वभर बाँड्नलागेको बिहीबार बताएको हो । अमेरिकाले कम्तीमा पनि आठ करोड डोज खोप विश्वभर बाँड्ने यसअघि नै घोषणा गरेको थियो । उक्त खोप जुनको अन्त्यसम्म बाँडिसक्ने जनाएको छ । योजनाअनुसार सुरुमा साढे दुई करोड डोज बाँड्न लागिएको हो ।

घोषितमध्ये ७५ प्रतिशत खोप कोभ्याक्समार्फत वितरण गरिने अमेरिकाले जनाएको छ । कोभ्याक्समार्फत वितरण हुने खोपलाई अमेरिकाले ल्याटिन अमेरिका र क्यारेबियन देशहरु, दक्षिण र दक्षिणपूर्वी एसिया तथा अफ्रिकी देशहरुलाई प्राथमिकतामा राखेको ह्वाइटहाउसले जनाएको छ । बाँकी २५ प्रतिशत खोप विश्वमा अचानक बौरिने कोरोना संक्रमणलाई मध्यनजर गरी आवश्यकताअनुसार वितरण गरिनेछ ।

अमेरिकाले धेरै देशबाट खोपको लागि आग्रह गरिएको जनाउँदै एक चौथाइ खोप सिधै अत्यावश्यक भएका देशहरुलाई दिइने जनाएको छ । यी खोपहरु कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, जोखिम उमेर समूह र रोगको उच्च जोखिममा रहेकालाई लगाइनेछ । अमेरिकाले सुरुमा आफ्ना छिमेकी देशहरु क्यानडा र मेक्सिकोलाई खोप सहयोग गरेको थियो । त्यस्तै ल्याटिन अमेरिका र क्यारेबियन देशलाई प्रतिव्यक्ति आधारमा प्राथमिकता निर्धारण गरेको थियो ।

अमेरिकाले साढे दुई करोड डोजमध्ये एक करोड ९० लाख डोज खोप कोभ्याक्समार्फत बाँड्नेछ । यसअनुसार ६० लाख डोज दक्षिण र मध्य अमेरिकी देशहरु ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, कोस्टारिका, पेरु, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पानामा, हाइटी र अन्य क्यारेबियन देशलाई दिनेछ । त्यसमा डोमिनिक रिपब्लिक पनि परेको छ ।

त्यस्तै एसियाका १६ देशलाई ७० लाख डोज र अप्रिकी संघसँग मिलेर अफ्रिकी देशहरुको लागि अमेरिकाले ५० लाख डोज दिने घोषणा गरेको छ । त्यस्तै ६० लाख डोज खोप क्षेत्रीय प्राथमिकता र साझेदार राष्ट्रहरु मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यान्क र गाजा, युक्रेन, कोसोभो, हाइटी, जर्जियाा, इजिप्ट, जोर्डन, इराक, यमनसँगै राष्ट्रसंघीय अग्रपंक्तिमा खटिने कर्मचारीका लागि छुट्याएको छ ।

अमेरिकाले आठ करोड डोज खोप विश्व समुदायलाई सहयोगस्वरुप दिने बताएपछि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्रपति र राष्ट्रप्रमुखलाई पत्राचार गर्ने क्रममा अमेरिकालाई पनि पत्रमार्फत खोप सहयोगको लागि आग्रह गरेकी थिइन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमार्फत खोप दिने घोषणाप्रति आभार व्यक्त गर्दै अमेरिकालाई धन्यवाद भनेका छन् । उनले भनेका छन्, ‘महामारीको डरलाग्दो लहरसँग जुधिरहेको नेपालका लागि अमेरिकाले खोप सहयोग गर्ने घोषणाको समाचारलाई धेरै स्वागत छ । मित्रताको सौहार्द प्रदर्शनप्रति धन्यवाद (विदेशमन्त्री) सेक्रेटरी ब्लिन्केन र अमेरिकी जनता !’

WRITE COMMENTS FOR THIS ARTICLE