नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमालेकाे निर्णय

काठमडौँ – एमाले स्थायी कमिटि बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई ६ महिनाका लागि गरेको निलम्बन फुकुवा गरेको छ।
बालुवाटारमा बसेको बैठकले नेपाल उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि गरेको कारबाही फुवाव गर्ने निर्णय गरेको हो।
अध्यक्ष ओलीले केन्द्रीय कमिटिको अधिकार आफूमा खिचेर गत चैत १६ र १९ गते नेताहरुलाई निलम्बन गरेका थिए।
पार्टी एकताको रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्र्दै यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीको भनाई छ ।
आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने कारक बन्ने खालको बाटोमा नहिँड्न नेता नेपाल पक्षलाई आह्वान पनि बैठकले गरेको छ।
बैठकले स्थायी कमिटिको अधिकार अध्यक्ष ओलीलाई दिने निर्णयसमेत गरेको उनले बताए। पार्टीहित विपरीत समान्तर गतिविधि गरेको भन्दै ओलीले चार नेतालाई प्रष्टिकरण सोधेका थिए।
पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा नेपाल पक्षले सांसद पदबाट राजीनामा नै दिएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्ने दिशामा अघि बढेपछि ओलीले कारबाही फुकुवा गरिदिएका हुन्।
राजीनामाबाट रोक्न ओली पक्षीय नेताहरुले नेपालसँग छलफल गरिरहेका बेला कारबाही फुकुवा गरेर वातावरण केही सहज बनाउन खोजेका छन्।
स्थायी कमिटि बैठक अघि नेता नेपालको कोटेश्वरस्थित निवासमा ओलीका दूता बनेर गएका अर्थमन्त्री विष्णु पौडेल पुगेका थिए । नेपाल, पौडेल र सोमप्रसाद पाण्डेबिच झण्डै आधा घण्टा छलफल भएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE