नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रो लहरको जोखिम उच्च

काठमाडौं : कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ । पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भएकाले स्वीकृत शैय्याको कम्तीमा २० प्रतिशत बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न सबै अस्पताल (सरकारी, निजी, सहकारी र सामुदायिक) लाई निर्देशन दिएको छ।
तर, संक्रमणको तेस्रो लहरमा भने डेल्टा र डेल्टा प्लस भेरियन्टको संक्रमणले बालबालिका प्रभावित हुने आँकलन विज्ञहरूले गरेका छन्। डेल्टा प्लसको संक्रमण नेपालसहित १० मुलुकमा पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय विश्वभर नै झण्डै ७० प्रतिशत संक्रमण डेल्टा र डेल्टा प्लसले गराएको छ। छिमेकी भारतमा तीव्र रूपमा संक्रमण गराइरहेको डेल्टा प्लसका संक्रमण नेपालमा पनि पाइएको छ।
भारत, अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, जापान, पोर्चुगल, पोल्याण्ड, रुसलगायतका मुलुकमा देखा परिसकेको छ। भारतका १२ राज्यमा डेल्टा प्लसको संक्रमण पाइएको छ। जसमध्ये ८ वटा राज्यमा डेल्टा भाइरसका संक्रमितहरू बढ्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
डेल्टा र यसको उत्परिवर्तित भेरियन्टको बढी संक्रमण दसैंको आसपासमा हुने विज्ञहरूको अनुमान छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘डेल्टा प्लसले नै तेस्रो लहर ल्याउँछ भन्ने यकिन छैन। तर, छिमेकी मुलुकमा संक्रमण बढाइरहेकाले नेपालमा पनि चाडपर्वको बेला जुनसुकै उमेरका व्यक्तिलाई संक्रमण बढ्ने जोखिम छ। यसबाट बालबालिका मात्र नभई खोप नलगाएका अन्य उमेरका व्यक्ति पनि संक्रमित हुन सक्छन्।’
नेपालमा डेल्टार डेल्टा प्लससहित अन्य दुईवटा भाइरसको संक्रमण पाइएको छ। गत वैशाख २६ देखि जेठ २० गतेसम्म मुलुकका विभिन्न भागमा विभिन्न उमेर समूहका व्यक्तिहरूबाट ४८ वटा नमुना संकलित गरिएको थियो। संकलित नमुनाहरूको जिनोमिक पहिचान (सिक्वेन्सिङ) गर्दा अधिकांशमा डेल्टा भेरियन्ट पुष्टि भएको थियो। संकलित ४८ वटा नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी जिनोम सिक्वेन्सिङका लागि भारत पठाइएको थियो। जसमध्ये ४७ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ। एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको डा. अधिकारीले जानकारी दिए। डेल्टा भेरियन्ट पुष्टि भएका ४७ वटा नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन (के ४१७एन म्युटेसन) भेटिएको छ। यसलाई एवाई १ नामाकरण गरिएको छ।
डेल्टाको उद्गम मुलुक भारत हो। गत वर्ष पुसमा यो भेरियन्टको पहिचान भएको थियो। त्यस्तै डेल्टा प्लस भेरियन्टको गत वर्ष चैतमा युरोपमा पहिचान भएको थियो। दोस्रो लहरमा व्यापक संक्रमण गराउनमा डेल्टा भाइरस जिम्मेवार रहेको विज्ञहरूको अनुमान छ।
स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाका वरिष्ठ कन्सल्ट्याण्ट डा. प्रकाश बुढाथोकी पनि संक्रमण फैलने जोखिम रहेको औल्याउँछन्। ‘स्मार्ट लक डाउन भन्दै निषेधाज्ञा खुकुलो बनाइएको छ। घरभित्र थुनिएका व्यक्तिहरू काममा दौडिनु स्वाभाविक हो,’ डा.बुढाथोकीले भने, ‘विश्वभरि नै खोपको अभाव छ। सरकारले लक्षित जनसंख्यालाई खोप लगाउन चाहेर पनि सकिएको छैन। केही महिनामै संक्रमण बढ्ने डर कायम नै छ।’ खोप पनि नपाएको र जनस्वास्थ्य मापदण्ड अपनाउने तदारुकता पनि नदेखिएको उनले बताए।
WRITE COMMENTS FOR THIS ARTICLE