निषेधाज्ञा खुकुलो बनाए पनि राजस्व संकलनमा कमी
काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा राजस्व संकलनमा कमी आएको छ ।
सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरेको निषेधाज्ञा केही खुकुलो बनाए पनि राजस्व संकलनमा भने कमी आएको हो ।
प्रतिदिन औसत २ अर्ब ३४ करोड रुपैयाँ राजस्व उठ्ने गरेकोमा असार महिना लागेसँगै यसमा गिरावट आएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनाको दुई हप्तामा प्रतिदिन औसत १ अर्ब ६१ करोडका दरले २० अर्ब ९७ करोड राजस्व संकलन भएको छ ।
जुन जेठ महिनाको औसत राजस्व संकलनभन्दा पनि कम हो । जेठ महिनाको कडा निषेधाज्ञामा समेत प्रतिदिन १ अर्ब ६५ करोड रूपैयाँका दरले राजस्व संकलन भएको थियो ।
लकडाउन खुकुलो भएसँगै संकलनमा बढावा आउने आंकलन गरिए पनि राजस्व भने घट्दै गएको छ ।
सरकारले केही दिनअघि कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गते सम्मका लागि थपेको थियो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म ८२.३६ प्रतिशत अर्थात् ८ खर्ब ३३ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ ।
सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, तथ्यांकलाई हेर्दा लक्ष्य अनुसारको राजस्व नउठ्ने देखिएको छ ।
आइतबार भने एकैदिनमा राजस्वमा वृद्धि भई ४ अर्ब २१ करोड रुपैयाँ उठेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE