धर्म, अध्यात्म र कम्युनिष्ट – विनोद जोशी

हाम्रो समाजमा पुजा, पाठ र परम्पराको निर्वाहको कसीमा अध्यात्म, धार्मिकता र आस्तिकतालाई जोडेर हेर्ने प्रचलन सर्वथा नौलो होइन । आस्तिकतालाई पुँजिवाद सँग र नास्तिकतालाई अधर्म अनि मार्क्सबाद सँग जोडेर कम्युनिस्टहरुलाई गाली गर्ने तथाकथित त्रिपुण्डधारीहरुको कमी पनि छैन । तर आस्तिकताको सम्बन्ध केवल मठ-मन्दिर र पुजा–पाठ सँग मात्र छैन भन्ने यथार्थलाई ज्ञानाध्ययनबाट नाता तोडिसकेका तर कर्मकाण्डको खोस्टो बोकेर हिंडेका ती पण्डाहरुलाई कसले बुझाईदिने ?
भागवत् गीताका श्लोक कण्ठ गर्ने तर त्यसमा वर्णित कर्मज्ञान प्रति कुनै सादृश्यता नखोज्ने एकाथरी बुझक्कडहरुले महाकवि देवकोटालाई “यात्री” कविता कै आधारमा नास्तिक र अर्काथरीले ‘कमनिष्ट’ भनेका होइनन् र ? रामनामीको गम्छा ओढेर मन्दिर धाउने, जल छर्कंदै अष्पस्ट उच्चारणसहित संस्कृतका केही श्लोकहरु भट्ट्याउन पारंगत भएकै आधारमा र धार्मिकताका नाउँमा धार्मिक ग्रन्थमा लेखिएका जेसुकै कुरा पनि शाश्त्रोक्ति भनेर अक्षरश: स्वीकार गर्ने धर्मका ब्रान्ड एम्बेसडरहरु के धार्मिक नै हुन् ?
के धर्म र पुँजिवादको अत्यन्तै नजिकको साइनो छ ? यी यस्ता प्रश्नहरु हुन् जसको उत्तर खोज्ने जमर्को गर्नेहरुलाई भगवानका स्व-घोषित एजेन्टहरु नास्तिक भनेर पन्छाउने गर्दछन् भने मार्क्सवादी हुँ भन्नेहरुले पनि नास्तिक हुनु नै कम्युनिष्ट हुनु हो भन्ने बुझेर जवाफ नै दिंदैनन् । तर धर्म र रुढीको अन्तर नखुट्याउने र नास्तिकता र मार्क्सबादको साइनो नकेलाउने हो भने समाजका शठहरुले युगौं सम्म पनि शोषण गर्ने अग्राधिकार पाइरहने छन्।
धर्मको ऐतिहासिक र आध्यात्मिक पक्षका अध्धेता, ज्ञाता एवं बिद्द्वानहरुको बिचारमा पाली भाषा को “धम्म:” तथा संस्कृत भाषाको “धर्म:” शब्दको वास्तविक अंग्रेजी रुपान्तरण “Religion” शब्द भने होइन। “धम्म:” वा “धर्म:” शब्दले परम्परा वा प्रचलनद्वारा स्थापित भएको बिधि, विचार र व्यवहारलाई बुझाउॅँछ भने “Religion” शब्दले कुनै धर्मगुरुद्वारा निसृत वा निर्देशित बिचारको परिपालनलाई अभिव्यक्त गर्दछ । यसर्थ समयक्रम सँगै “धम्म” वा “धर्म:” परिमार्जित हुँदै पनि गयो तर “Religion” परिमार्जित भएनन्।
परिणाम स्वरूप यूरोप लामो कालखण्ड सम्म पोप र पादरीहरुको र अरबको भूमि पैगम्बर, मुल्लाह, काजी, सुल्तान र अल्लाहका स्वघोषित दूतहरुको चंगुलमा छटपटाइ रह्यो । धर्मका नाउँमा अनेक पटक युद्धहरु भए । मानवता प्रताडित र शोषित हुँदै रह्यो । “Religion” ले थोपरेका अनेक अन्धविश्वास र रुढीहरुबाट मानब समाजलाई मुक्त नगराई मानव मुक्ति सम्भव नदेखेर नै महान विचारक “कार्ल मार्क्स” ले “Religion” लाई अफिम हो भनिदिए ।
यताकाले भने शब्दानुबाद गर्दै “मार्क्सवाद” ले धर्मलाई अफिम भन्छ” अर्थात् “कम्युनिष्टहरु धर्म बिरोधी हुन्” भन्ने हल्ला फिंजाए । सन्जोग त के भने, अन्धविश्वास र रुढीबादको बिरोध गर्ने शिक्षापाएका क्रान्तिकारी कम्युनिष्टहरुले पनि एकातिर पुँजीबादीहरुको कुत्सित मनासायनै नबुझी हो मा हो मिलाए। अर्कोतिर नास्तिक हुनुलाई नै क्रन्तिकारीताको पर्याय मानिदिए । यदि यसैलाई यथार्थ मान्ने हो भने हिन्दु ग्रन्थहरुमा वर्णित नास्तिक ऋषि “चार्वाक” र मुर्तीपुजा बिरोधी सिद्धार्थ गौतमलाई पनि कम्युनिस्ट भनिदिए भै गयो त !
त्यसो भए बौद्ध धर्मावलम्बी र अन्य नास्तिक जति कम्युनिस्ट र हिन्दु धर्म मान्ने जति सबै पुँजिवादी भए त ? अझै नन्दी-भृङगी, भूत-प्रेत, पिशाच, डाकिनी आदि समाजका अति अपहेलित बर्गलाई साथ राख्ने भगवान शिब त बास्तबिक कम्युनिष्ट नै भएनन् र ?
भौतिक समृद्धि बिना आध्यात्मिक समृद्धि हुँदैन भन्ने यर्थार्थ विचार बोकेको मार्क्सबादको धज्जी उडाउन सामन्ती पुँजिवादीहरुले कहिले छोडेका छन् र ? त्यसैको अवशेषको रुपमा हाम्रो समाजमा रहेका तथाकथित धार्मिक भनाऊँदा तर धर्म र “Religion” को भेद नै नबुझेका पाखण्डी पण्डितहरु र धर्मका ब्रान्ड एम्बेस्डरहरुलाई प्रधानमन्त्री ओलीले पशुपतिनाथको पुजाआजा गरेकोमा नै अघ्घोर आपत्ति रहेछ । अर्काथरी प्रजातान्त्रिक भनाउँदा सामाजिक ठेकेदारहरुलाई कम्युनिष्टहरुले सुकिलो लगाएकैमा पनि आपत्ति छ ।
अध्यात्म र पाण्डित्य अनि हाँस्यचेत र क्षुद्र आलोचनाको अन्तर खुट्याउन नसक्ने त्यस्ता पण्डाहरुले सबैभन्दा पहिले त आफ्नै ज्ञान र बुद्धिको दैलो उघारेर हेरेहुन्छ । जसरी आस्तिक हुनु नै धार्मिक हुनु भनेको होइन त्यसरी नै नास्तिक हुनु नै कम्युनिष्ट हुनु पनि होइन ।
जसरी सामन्तबाद र पुँजिवादको साइनो धर्म सँग होइन बरु धर्मको आडमा गरिने शोषण सँग छ त्यसरी नै राज्यको साझा भौतिक समृद्धिको सम्बन्ध अध्यात्म र आस्तिकता सँग छ । के गरिबीले तन्नम समाज धार्मिक वा आस्तिक हुन सक्ला ? “भुखे पेट, भजन ना होय गोपाला” त शास्त्रज्ञाताहरुले भनेकै छन् त ।
धर्मको इतिहास केलाउँदा शाक्त एवं शैव परम्पराबाट सिर्जित “सनातन” धर्मलाई नै सर्ब प्राचीन धर्म मानिन्छ । समयक्रममा यस सँग जोडिएका तन्त्र बिद्ध्या र अन्य अलौकिक एवं गुप्त बिद्ध्याहरु र ती सँग जोडिएका कठोर अनुशासन र तिलस्मी ज्ञानले सनातन धर्म आम जनमानसका लागि दुरुह हुँदै गयो । फलस्वरूप सरल र सहज धर्मको रुपमा “सम्यक” धर्मको उदय भएको पाईन्छ । “सनातन” धर्म पछि “सम्यक” धर्म नै सबैभन्दा प्राचीन हो भन्ने तथ्य उपलब्ध साक्ष्य र प्रमाणहरुले स्थापित गरिसकेको छ ।
केही धर्मभीरुहरु भने अझै पनि हिन्दुधर्म नै प्राचीन हो भन्दैछन् । सम्यक धर्म सँग जोडिएका शाक्यमुनी सिद्धार्थ गौतम सम्यक संस्कृतिका पछिल्ला कडी मात्रै हुन् । जसलाई अहिले चलनचल्तीको भाषामा बौद्धधर्म भन्ने गरिन्छ । बुद्धत्वको अर्थ र गौतम बुद्ध भन्दा अघि पनि थुप्रै अन्य “बुद्ध”(क्रकुच्छंदबुद्ध, बिपश्वी बुद्ध, अमिताभ बुद्ध आदि) भएका थिए भन्ने बुझियो भने यो रहस्य अझै प्रष्ट होला ।
प्रलयंकारी जल-प्रलयको कारण सरस्वती नदी सभ्यता (हडप्पा सभ्यता) को पतन मात्र भएन बरु त्यसपछिका समयमा सरस्वती नदीको सतहमा बग्ने अस्तित्व नै हरायो । पर्यावरणीय उथलपुथलको उक्त समयमा आईपरेको दुख: कष्ट र जर्जरताबाट पार पाउन आर्यहरु सुर-असुर लगायतका मूल बासिन्दा सँग सह-कार्य गर्न बाध्य थिए ।
तर सिन्धुनदी किनारमा फैलिएको बिशाल सिन्धुघाटी सभ्यता (मोहेन्जोदाडो सभ्यता) को बिकास र स्थिरता सँगै सह-अस्तित्वको बाचा-बन्धन र सम्झौता समेत महत्वाकांक्षी आर्यहरुले बिर्सिए । शनै:शनै: कृतघ्न आर्यहरुले सह-कार्य र सह-अस्तित्वको भावनालाई लत्याएर अन्य सबैलाई दमन गरी सर्वकालिक रुपमा आफू मात्रै सर्वशक्तिमान बन्न कपटको सम्पूर्ण ब्यूह रचना गरे । त्यो ब्यूह-रचनाको नाम थियो – ब्राह्मणबाद ।
धूर्त आर्यहरुलाई भगवान् शिवद्वारा स्थापित “सनातन बिचार पाठशाला” (Sanatan School of Thought), भगवान् बिष्णुद्वारा स्थापित “वैष्णवत् बिचार पाठशाला” (Vaishnawat School of Thought) र भगवान ब्रह्माद्वारा स्थापित “ब्राम्ह बिचार पाठशाला” (Braamh School of Thought) बिच रहेको सुषुप्त द्वन्दको बारे राम्रो ज्ञान थियो । यसैकारण तुलनात्मक रुपमा सबैभन्दा कमजोर “ब्राम्ह बिचार पाठशाला” को सहयोग लिए । प्रारम्भमा शैव मतको अपमान गर्दा दक्षको यज्ञको बिकराल विध्वंश देखिसकेका आर्यहरुले शैव र वैष्णवहरुको असहयोगबाट बच्न वा आफ्नो रणनीति अनुकूल सहयोग प्राप्त गर्न पनि त्यसो गरेको हुनुपर्छ र तिनलाई अवतारबादमा लगेर कुटिलतापुर्वक आराध्य बनाई मन्दिरहरुमा थन्क्याए ।
फारसी भाषामा ‘स’ लाई ‘ह’ उच्चारण गरिने कारणले सिन्धु सभ्यता सँग आबद्ध सबै जन कालान्तरमा हिन्दु भनेर चिनिए भन्ने तथ्य त धेरैलाई थाहा भएकै हुनुपर्छ । अत: सिन्धु सभ्यतालाई समग्रतामा हिन्दु-सभ्यता भनिएकोमा ब्राम्हणबादी पण्डितहरुले आफुहरुलाई नै सिन्धु सभ्यताको बास्तविक प्रतिनिधिको रुपमा उभ्याउन पनि सफल भए। कर्मकाण्डको संरचनामा बुनिएको आफ्नो कुत्सित चक्रब्युहलाई “हिन्दुधर्म” को रुपमा प्रचारित गरिदिए ।
“ब्राम्ह बिचार पाठशाला” आर्यहरुको चक्रब्युहको परिणाम ज्ञात हुने अबस्थामा पुग्दासम्म निकै ढिलो भईसकेको थियो । तिनको नामको दुरुपयोग ब्यापक रुपमा भैसकेको थियो । आर्यहरुको बिरोध त भयो तर तिनको बिरोध गर्ने ब्रह्म:बादी चिन्तकहरुलाई या त समाप्त पारियो या आर्यहरुको सामु ‘त्वं:शरणम्’ गर्न ती बाध्य भैसकेका थिए । आजसम्म बिरोधका ती मधुर स्वरहरु हाम्रा विद्वान ऋषिमुनीहरुको विचार, शिक्षा र लेखनमा सुन्न पाईन्छ ।
अहिले पनि “ब्रह्म:बाद” र “ब्राह्मणबाद” एकै होइनन् है ! भन्ने शिक्षा प्रख्यात् विद्वान र साधु संतहरुले प्रसार गरिरहेकै छन् । बर्तमानमा देखिने साधु-संतहरुको यो भीडमा “ब्रह्मबाद” ले ओतप्रोत भएका र “ब्राह्मणबाद” को मायाजालमा बेरिएका दुबैथरीलाई देख्न, जान्न र बुझ्न पाइएकै छ ।
“ब्राह्मणबाद” को कुटील रणनितीको उपयोगका लागि प्रारम्भमा यिनले सानातिना राज्यका स्वार्थी राजा रजौटाहरुलाई प्रपन्चमा फंसाए । ईसापूर्वको प्रथम शताब्दीमा पुश्यमित्र शुंग जस्ता शक्तिशाली शासकको साथ पाएपछि त ब्राह्मणबादको झन्डा सर्वत्र लहरायो । अनि शुरु भयो मूल निवासीहरुको बिरुद्ध आर्यहरुको ताण्डब । सनातन र सम्यक धर्मका ज्ञानको भण्डारको रुपमा रहेको ७२ मध्धे ७० वटा विशालकाय विश्वविद्यालयहरु नष्ट गरिए।
बाँकी दुई विश्वविद्यालयहरु – तक्षशिला र नालन्दा – भने मुस्लिमहरुले नष्ट गरिदिए । अतातायी आर्यहरु यतिमै सिमीत रहेनन् । सनातन र सम्यक धर्मका मन्त्र, सूक्ति, रचना र बिबिध ग्रन्थहरु संस्कृत भाषामा आफु अनुकुल उल्था गरे / गराए। आफु अनुकुल उल्था वा रचना नभएका ग्रन्थहरुलाई कि त अविश्वसनीय ढंगले तोडमोड गरिदिए कि त जलाइए । ब्राह्मणबादको प्रशस्तिर भक्तिगान गाउने भाटहरुको जमातलाई पनि ऋषि मुनि कै दर्जा दिइयो ।
सनातन धर्ममा भएको गुण सूचक ब्राह्मण, क्षेत्रीय र वैश्य बर्णहरुलाई जातीय बर्ण ब्यबस्थामा रुपान्तरण गरिए । मूल बासिन्दाहरुलाई शुद्र बनाईयो । आम जनताको शिक्षाको अधिकार खोसीयो । कर्मबादलाई भक्तिबाद र भाग्यबाद द्वारा बिस्थापित गरियो । स्वर्ग, नर्क, पूर्वजन्म र पुनर्जन्मको स्वैर कल्पना गर्दै “गरुड पुराण” जस्ता रचनाको माध्यमबाट आम जनता उपर अज्ञात भयको तरवार झुन्ड्याईयो। यसबाट आम जनताको त के कुरा कतिपय राज्य समेत यिनका दास बन्दै गए ।
भारतीय उप-महाद्वीपमा बहु-प्रचारित हिन्दु धर्मको इतिहासलाई केलाउने हो भने ईसा पूर्वको १०० बर्ष देखि ईसाको सातौं शताब्दी सम्मको समयलाई धार्मिक पण्डाहरुको बर्बरता र तिनीहरु द्वारा मटियामेट गरिएका मूल निवासीहरुको दर्दनाक जातीय उत्पीडनको “कालो युग” भनिदिए हुन्छ ।
धार्मिक र कर्मकाण्डी पाखण्डलाई आधार बनाएर शंकराचार्य र कुमारील भट्ट जस्ता पात्रहरुले तत्कालीन सत्ता र शक्तिको दुरुपयोग गरी मानवजातिको बाँच्न पाउने मौलिक हकको शिरोच्छेदन कसरी र कुन हद सम्म गरे भन्ने विवरण र त्यो कालखण्डमा शक्तिहीन भएका सनातनी र सम्यक संस्कृतिका अनुयायी जैन र बौद्ध धर्मावलम्बीहरुको कत्लेआमको र जातीय उत्पीडनका विवरणहरु अझैपनि पारसी, बौद्ध र जैन धर्मका पुस्तक र ग्रन्थहरुमा यथेष्ट पढ्न पाईन्छ ।
यो त्यहि समय थियो जुन समयमा आफुलाई सर्बश्रेष्ठ हौँ भन्ने “आर्य” जातिले यहाँका मूल निवासीहरुको शारीरिक र मानसिक शोषण मात्रै नभई पुस्तौं–पुस्ता सम्म पनि तिनलाई उठ्नै नसक्ने गरि थलापार्न अनेक ग्रन्थ, पुराण र उपनिषद्हरुको रचना मात्रै गरेनन् अपितु यस अघि भएका सबै ग्रन्थहरु र त्यसमा वर्णित घटनाक्रमहरुको ब्यापक अप-लेखन गरियो । यस अघि प्रयोगमै नआएको र प्राचीन “पर्सिया” (अर्थात् बर्तमान ईरान) को एउटा सानो भू-भागमा बसोबास गर्ने आर्यहरुले बोल्ने “संस्कृत” भाषाको उपयोग भयो र उक्त भाषालाई सर्वाचिन र देवभाषा साबित गर्न अनेक प्रपन्च रचिए ।
विशेषत: मूल निवासीहरु र महिलाहरुको ज्ञान प्राप्तिको अधिकार खोसिए । गुरुकुल प्रवेश त परको कुरा भो, तिनले त ब्राह्मणले गरेको मन्त्रोच्चारण सुने मात्रै भने पनि कानमा शिशा पगालेर हालिदिनु भन्ने अमानवीय उर्दी जारी गरे ।
ईतिहास भन्दछ कि आर्यहरुले कहिल्यै केहि पनि आफै निर्माण गरेनन् बरु अरुले निर्माण गरेका संरचनाहरु उपर अतिक्रमण मात्रै गरे । त्रिपुर वा स्वर्गको निर्माण देखि लिएर कृष्णको द्वारिका वा पाण्डवहरुको इन्द्रप्रस्थ – सबै दैत्य र दानवहरुका निर्माण थिए भन्ने कुरा त हिन्दु धर्मग्रन्थहरुमा लेखिएकै छ । सुरा र सुन्दरीका पारखी “सुर गण” र तिनका सहायक “आर्य” हरुलाई ज्ञान-ध्यान र मानवतामा कुनै रुची नै थिएन, त्यसैले तिनले संस्कृत भाषामा तयार पारेका बेदमा समेत घोडा सँग स्त्री मैथुन गराई आनन्द लिएको कुरा उल्लेख छ ।
यसका लागि त बर्तमान भारत भूमिका केही विद्वान आर्य समाजीहरुद्वारा ऋग्वेद उपर लेखिएको भाष्यमात्रै पढेपनि पुग्छ । सम्पूर्ण ऋग्वेद मा १०५ पटक “असुर” शब्दको प्रयोग भएको मा करिब तेह्र पटक नकारात्मक र अन्यथा ज्ञानी, मेहनती, यज्ञकर्ता भन्ने अर्थमा प्रयोग भएको छ । “सुर:” शब्दको प्रयोग भने नकारात्मक अर्थमा प्रयोग भएको देखिन्छ । यसै कारण धार्मिक पण्डाहरुले जतिसुकै चिच्याए पनि आज पर्यन्त संस्कृत ग्रन्थहरुको इतिहास आजभन्दा २२०० /२३०० बर्षभन्दा पुरानो रहेको प्रमाण कतै फेला पर्दैन ।
भारतीय भूमिमा गणेश, शिव, कुमार आदि भगवानको पूजागर्ने प्रचलन र ज्योतिष बिध्याको प्रवेश समेत मुख्य भुमि चीनबाट आएका युची कबिलाका कुषाण सम्राट कनिष्कले भित्र्याएको इतिहास पाईन्छ । हडप्पा र मोहेन्जोदाडोमा भेटिएका मानव अवशेषहरुको डीएनए परिक्षणले पनि “आर्य” हरु भारतीय भूमीका मूल बासिन्दा होइनन् भन्ने प्रमाणित गरिदिएको छ ।
यसरी जतिसुकै गरेर पनि सनातन र सम्यक धर्मका ग्रन्थहरुमा उत्कीर्ण ज्ञान र विचारलाई संस्कृतमा लेखाएर आफ्नो ज्ञान, विचार र भाषा नै प्राचीन हो भनि “आर्य” हरुले सिद्ध गर्न खोजे पनि त्यो प्रयत्न हाम्रो बरमझियाको पेंडा पसलेहरुले आफुलाई नै असली र पुरानो प्रमाणित गर्न खोजे जत्तिकै मात्र भएको देखिन्छ । किनकि अहिले सम्म उपलब्ध साक्ष र प्रमाणहरुले“पाली” र“तमिल” भाषालाई नै“संस्कृत” भन्दापुरानो प्रमाणित गरेको छ ।
हिन्दु धर्मका नाउँमा प्रचारित अजस्र ज्ञानका सरिता बास्तवमै आर्य रचित ब्राह्मणबादका उपज होइनन् । यी त ठग रचनाकारहरुले सनातन धर्म, सम्यक धर्म र ब्रम्हज्ञानका रचनाहरुबाट चोरी गरि आफ्नै रचना हो भन्ने प्रमाणित गर्न संस्कृत भाषामा उधृत गर्न खोजिएका अंश मात्रै हुन् ।
हाम्रोपूर्वीय परम्परा धर्म, मानवता, रहस्य र अलौकिकता, तन्त्र, कला, संगीत, नृत्य, निर्माण, खोज, सृजना र अध्यात्मज्ञानका अजस्र स्रोतहरुले भरिपूर्ण छ भन्नेकुरामा कसैको दुईमत नहोला । तर बिभिन्न समयमा यी स्रोतहरूमा गरिएको बिबिध प्रहारहरुले यसमा अन्तर-निहित सत्योद्घाटनलाई अतिदुरुह बनाएको छ ।प्रमाणिकयथार्थ र ऐतिहासिक ज्ञानलाई प्रयोगात्मकताको कसीमा धैर्य र निष्पक्ष निष्ठापूर्वक नघोट्दा सम्म केही प्राप्त हुनेछ भन्ने आशा गर्नु भनेको पाषाणबाट पारस प्राप्त गर्नु जत्तिकै कठीन कार्य हुनेछ ।
अत: प्रारम्भ मै हिन्दु ग्रन्थहरुमा प्रयोगमा यत्रतत्र सर्वत्र प्रयोग गरिएका केही शब्द वा पदहरुको उदगम् र अर्थको बास्तबिकता र भिन्नता बारे सजग हुनु जरुरी छ । ती मध्ये प्रमुख शब्द वा पदहरु निम्नानुसार छन् :-
- ईश्वर – भगवान – देवता ;
- सुर – असुर;
- देव – दानव – दैत्य ;
- आर्य – अनार्य – राक्षस;
- शिव, विष्णु, ब्रह्म लगायतका विभिन्न लोकहरु र तिनको अवस्थिति;
- सनातन, सम्यक र ब्राह्मण धर्म,
- बैदिकता, हिदुत्व र आर्यत्व; आदि।
सनातन धर्म सँग हिन्दुधर्मलाई नजोडदा सम्म र हिन्दुत्वलाई ब्राम्हणवादबाट नछुट्याए सम्म हिन्दु धर्मको ऐतिहासिक बास्तबिकता सँग साक्षात्कार गर्न सकिन्न । यहि गन्जागोलकै कारण नेपाल भित्रै पनि विभिन्न स्थानमा हिन्दु धर्मका बिभिन्न रुपहरु देख्न पाइएका हुन् । काठमाडौं उपत्यका भित्रका हिन्दुहरुमा सनातन हिन्दुत्वको तान्त्रिक पन्थ एवं शैव – शाक्तमतको प्रभाव बढी रहेको देखिन्छ।
त्यस्तै पूर्वी नेपालमा ब्राह्मणबाद र वैष्णव मत कै प्रभाव बढी देखिन्छ । सुदूरपश्चिमका अधिकांश भू-भागका खसहरुले बिभिन्न स्वरुपमा भैरव-कुमार-गणेशको तथा पूर्वका किराँत-राई, लिम्बुहरुमा भगवान शिवको किराँतेश्वर रुपको अनुष्ठान गर्ने परम्परा रहेको देखिन्छ ।
(नाक चेप्टो भएका जति सबै मंगोल होइनन् । मंगोलहरु ईसाको छैठौं शताब्दीमा मात्र अस्तित्वमा आएका र यिनले नै भारतमा“मुगलवा मुघल” शासकको रुपमाशासन गरेको इतिहास रहेको छ । त्यस्तै खस,किराँत राई, लिम्बु आदि ईसा पूर्वको ३००० बर्ष अघि नै मध्य एशियाबाट हिमवत्खण्डको बिभिन्न भू-भागमा प्रवेश गरिसकेको प्रमाण भेटिन्छ भन्ने कुरा यस अघिका लेखहरुमा पनि उल्लेख गरेको हुँ ।
जिज्ञाँसुपाठक, बिज्ञअग्रज र निष्पक्ष आलोचक एवं प्रशंसक मित्रहरुको हौसला पाए आगामी अंकहरुमा मेरा अध्ययन, ज्ञान र खोजले भ्याएसम्म यिनै बिषय-बस्तुहरुमा थप कलम चलाउनेछु ।)
(-लेखक त्रिभुवन विश्वविद्यालय अन्तरगत पद्मकन्या बहुमुखी क्याम्पसका सह-प्राध्यापक हुन् ।)

WRITE COMMENTS FOR THIS ARTICLE