देउवा र पौडेलको फरक फरक प्रस्ताव सहित महाधिवेशन सार्ने सहमति
नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।
महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक-फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए ।
तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
नेता मिनेन्द्र रिजालले नयाँ कार्यतालिका ल्याउने सहमति भए पनि वडा अधिवेशन कहिलेबाट सुरु गर्ने भन्नेबारे समझदारी नभएको बताए । उनले भने, ‘भोलि साउन २८ गते हुँदैछ । भदौ १६ मा महाधिवेशन हुने कुरा त भएन । तर, अब वडा अधिवेशन कहिले सुरु गर्ने भन्नेमा विषयमा सहमति भएको छैन । यसमा फरक मत छ ।’
यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुने रिजालले बताए । विहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ ।
WRITE COMMENTS FOR THIS ARTICLE