देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने नेता नेपालको अडान

Madhav Nepal made CPN Chairman - Sanjib Bagale - Setopati

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदसँग छलफल गरेका छन्। शनिबार छलफलपश्चात सांसदहरूले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए।

उता सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए पार्टी फुटको घोषणा मानिने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको चेतावनी छ । शनिबार नेता नेपालसँग भएको टेलिफोन सम्वादका क्रममा उनले हस्ताक्षर फिर्ता लिन जोड दिएका छन् ।

‘अध्यक्ष ओलीको अवैधानिक बैठकले गरेको निर्णय पनि अवैधानिक नै छ’, चौधरीले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पार्टी एकता गर्न चाहिरहेका छैनन्। उनी आफैंले पार्टीलाई फुटको बाटो लैजान खोजिरहेका छन्।’

यस्तै अवस्था आयो भने नयाँ पार्टी निर्माणको बाटोमा समेत अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालिएको उनले बताए।
यद्यपि आफूहरू अझै पार्टी एकताको लागि नै पहल गर्ने पक्षमा रहेको उनको जिकिर छ।

एउटा प्रयोजनमा लिएको हस्ताक्षर बीच बाटोमै फिर्ता लिए मृत्युपत्रमा हस्ताक्षर गरेसरह हुने उनको भनाइ छ।

‘एउटा प्रयोजनमा लिएको हस्ताक्षर बीच बाटोमै फिर्ता लिनु हुँदैन’, उनले भने,‘त्यो फिर्ता लिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गरेसरह नै हो।’

यसैगरी आजै बसेको एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले मुद्दाको फैसला हुँदासम्म प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज जसको कायम रहन्छ ती नेता/ कार्यकर्ता नहुने उद्घोष गरेका छन्।

उनले भने,‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज-जसको कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्।’

तर वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको प्रतिक्रिया दिएका छन् । ‘अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा फैसला स्वीकार्न सकिन्छ, हस्ताक्षर फिर्ता लिन सकिन्न’ नेता नेपालको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE