झ्याप्प झ्याप्प बिजुली किन जान्छ ?

प्राधिकरण भन्छ, ‘लोडसेडिङ होइन, हिटरले हो’
पछिल्लो समय बिजुली बत्ति झ्याप्प— झ्याप्प जान थालेसँगै आम मानिसमा लोडसेडिङको त्रास बढ्दै गएको छ । जाडो बढेसँगै विद्युत खपत् पनि बढेको छ । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ भएको नभइ हिटरको प्रयोग बढेपछि पुरानो तारहरु पग्लन थालेकाले केही समय विद्युत अवरुद्ध भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै शाक्यले नयाँ सिस्टमको हिटर पुरानो तारमा जडान हुँदा समस्या आएको बताए । यद्यपि, शाक्य गत वर्षको यही अवधिको तुलनामा यस वर्ष कम विद्युत काटिएको बताउँछन् ।
उनले भने, ‘लोडसेडिङ भएको छैन र हुँदैन पनि । अहिले जाडो बढेसँगै काठमाडौँमा माग बढेको छ । माग बढ्दै जान थालेपछि लोडसेडिङ भएको भन्ने लागेको हो तर विभिन्न फिडरमा मानिसहरुले हिटर थप्न थालेपछि समस्या आउन थालेको हो ।’
प्राधिकरणका अनुसार कमजोर भएका तारहरु डिसकनेक्ट भएका छन् । पुरानो सिस्टममा भएको तारमा नयाँ सिस्टमका हिटर जडान हुँदा तार पग्लने समस्या देखिएको छ । यो समस्या जहाँ–जहाँ छ सोही ठाउँमा मर्मत भइरहेको छ । ओभरलोड हुँदा समस्या आएको प्राधिकरणले जनाएको छ ।
गतवर्ष भन्दा यो वर्ष पिक समयमा ५० मेगावाट माग बढेको छ । गत वर्ष १४ सय ७ मेगावाट थियो भने यसवर्ष १४ सय ५७ मेगावाट नाघिसकेको छ । यो अझै बढ्दै जाने देखिएको छ । यसको लागि लोड थेग्न आवश्यक पर्यो भने केही समय फिडर काट्न पनि सकिने शाक्यले भनेका छन् । शाक्यले समस्या देखिएको ठाउँमा तार पग्नलु अगावै मर्मत गर्न निर्देशन दिएको पनि बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE