जसरी पनि एसईई गराउने परीक्षा बोर्डको तयारी, विद्यार्थी भन्छन्– ‘कोर्स नै सकिएको छैन, के लेख्ने ?’

 

 

 

विद्यालय बन्द भएदेखि घरभित्रै बसेर पढ्न बाध्य छन्, आकाश अधिकारी । जोरपाटीस्थित चामुण्डा माविमा पढ्ने उनी नजिकिँदै गरेको एसईईको तयारी गर्दै छन् । तर, तयारी पर्याप्त नभएकोमा उनको चिन्ता छ । भन्छन्, ‘अरु विषय त अनलाइनबाट पनि बुझ्छु, तर गणित र विज्ञानमा भने गाह्रो हुन्छ ।’

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै परीक्षा हुन्छ वा हुन्न भन्ने अन्योलमा छन् उनी । महामारीका कारण ९ कक्षादेखि घरभित्र थुनिएका उनी १० कक्षाका दुई महिनाजति भने स्कुलमै गएर पढ्न पाए । तर, कारोना माहामारीको दोस्रो लहर फैलिएसँगै त्यो क्रम टुट्यो ।

अनलाइनबाट पढ्दा झन्झटिलो भएकाले समयमा कोर्स नसकिएको आकाश बताउँछन् । त्यसैले पढाइ सकेर मात्र परीक्षा लिनुपर्ने उनको भनाइ छ । ‘पढाउँदै नपढाई के आधारमा परीक्षा दिने ?,’ उनले भने, ‘बरु ढिलो होस्, तर पढाएरै परीक्षा लिइयोस् । नपढी कक्षा मात्र चढाउँदा घाटा त हामीलाई नै हो ।’

काठमाडौंका विद्यार्थीको नै यो हालत छ भने गाउँतिर के होला ?

शहरका विद्यार्थीले त कम्तीमा अनलाइनबाट भए पनि पढ्न पाए । सञ्चार सुविधा नभएको ठाउँका विद्यार्थी भने स्वअध्ययनकै भरमा छन् । उनीहरूलाई न अनलाइन शिक्षाको व्यवस्था छ, न शिक्षकशिक्षिका घरघर गएर पढाउँछन् ।

सिन्धुलीको भवानी माविमा अध्ययनरत विविशा पोख्रेल घरमै बसेर परीक्षाको तयारी गर्दै छिन् । उनलाई न अनलाइन विधिबाट पढाइयो, न कुनै वैकल्पिक उपाय अपनाएर सिकाइयो । भौगोलिक विकटताका कारण पढ्न कठिन भएको उनी बताउँछिन् ।

विविशाको कोर्स आधा पनि सकिएको छैन । अनलाइनमार्फत पढ्न गाउँमा राम्रो सञ्चार सुविधा पनि छैन । ‘दुई-तीन महिना स्कुल गएर पढ्न पाइएको थियो, अब त्यो पनि छैन,’ उनी भन्छिन्, ‘सकेको घरमै पढेको छु, अब जस्तो हुन्छ, परीक्षा त दिनैपर्‍यो ।’

परीक्षा हुन्छ कि गत वर्षजस्तै विद्यालयले मूल्यांकन गर्छ भन्ने टुंगो लागेको छैन । गत साल कोरोना माहामारीका कारण परीक्षा लिन नसकेपछि सरकारले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल परीक्षाका लागि प्रश्नपत्र तयार भइसकेको र प्याकिङ गर्ने काम चलिरहेको बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारी साम्य भए तोकिएकै मितिमा परीक्षा हुन्छ । भएन भने परिस्थिति हेरेर निर्णय लिन्छौँ ।’

परीक्षा बोर्ड तयारी अवस्थामा रहँदा तपाईंका छोराछोरीचाहिँ कत्तिको तयार छन् ?

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी परीक्षाका लागि विद्यार्थीहरू तयार नभएको बताउँछन् । यस वर्ष पढ्न नपाएकाले विद्यार्थी तयार नरहेको उनको तर्क छ । भण्डारी भन्छन्, ‘पढाउँदै नपढाई कसरी परीक्षा लिने ? पहिला पाठ्यक्रमले तोकेअनुसार पढाएर सक्नुपर्छ, अनि बल्ल परीक्षाको कुरा आउँछ ।’

त्यस्तै, अहिलेकै अवस्थामा परीक्षा लिन नहुने तर्क गर्छन् एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा । विद्यार्थीहरूको पढाइ नै नसकिएको अवस्थामा लिएको परीक्षाको कुनै औचित्य नहुने उनको भनाइ छ । हालसम्म धेरै स्कुलमा २० प्रतिशत पाठ्यक्रम पनि पढाइ नभएको उनको दाबी छ । ‘यस्तो अवस्थामा कसरी परीक्षा लिने,’ सापकोटा भन्छन्, ‘बरु अलिकति समय थपौँ, अनि पाठ्यक्रमअनुसार पढाइसकेपछि बल्ल परीक्षाको कुरा गरौँला ।’

गत वर्षको नजिरका आधारमा परीक्षा हुँदैन कि भन्ने भ्रम नपाल्न विद्यार्थीलाई उनको आग्रह छ । ‘पोहोर पो विद्यार्थीले पढेका थिए र आन्तरिक मूल्याङकनअनुसार नतिजा आयो,’ उनी भन्छन्, ‘यो वर्ष त विद्यार्थीले पढ्नै पाएका छैनन् । शहरमा त अनलाइनले तै धान्यो होला, तर गाउँको अवस्था के छ ? अनि के आधारमा मूल्याङ्कन गर्ने ?’

शिक्षाको गुणस्तर बढाउने कुरामा सरकारले ध्यान नदिएको सापकोटाको गुनासो छ । उनका अनुसार शैक्षिक गुणस्तर मापनको तथ्यांक हेर्दा सामान्य समयमा पनि ३० प्रतिशत शिक्षण सिकाइ नेपालमा उपलब्ध थिएन । ‘झन् यो माहामारीमा के हविगत होला ?,’ उनी भन्छन्, ‘त्यसैले वैकल्पिक उपाय निकालेर पहिला विद्यार्थीको पाठ्यक्रम सक्नुपर्छ ।’

तर, प्याब्सनका अध्यक्ष टीका पुरी भने आफ्ना विद्यार्थी परीक्षाका लागि तयारी अवस्थामा रहेको बताउँछन् ।

सकेसम्म परीक्षा हुन्छ : शिक्षा मन्त्रालय

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सकेसम्म परीक्षा गर्नेमा मन्त्रालयको जोड छ । तर, हाल तोकिएकै मितिमा गर्ने कि सार्ने भन्नेमा अहिले नै भन्न नसकिने उनी बताउँछन् । ‘दुई हप्ताजति हामी पर्ख र हेरको स्थितिमा रहन्छौँ । त्यसपछि परीक्षा बोर्डसँग परामर्श गरेर आवश्यक कदम चाल्छौँ,’ उनले भने ।

साथै, परीक्षा हुँदैन भनेर ढुक्कले नबस्न शर्माले विद्यार्थीलाई आग्रह गरे । उनी भन्छन्, ‘तोकिएकै मितिमा नभए पनि अनुकूल समयमा जसरी पनि परीक्षा हुन्छ । महामारी नियन्त्रणमा नआएको अवस्थामा पनि कुनै न कुनै विधि अपनाएर परीक्षा लिन्छौँ ।’

अनि पाठ नै नसकी परीक्षा ?

विद्यालयले पाठ सिध्याएको भनेपछि आफूहरूले परीक्षा मिति तय गरेको शर्माको दाबी छ । ‘पाठ सकिएको छैन भन्ने गुनासो मैले सुनेको छैन,’ उनले भने, ‘यदि अप्ठयारै स्थितिको हो भने विषय शिक्षकसँग परामर्श गरेर पढ्न विद्यार्थीलाई अनुरोध छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE