जसपाबाट काे-काे बन्दै छन् मन्त्री ? पूर्वमाओवादीका चार जना पनि मन्त्री बन्ने

 

जसपाबाट काे-काे बन्दै छन् मन्त्री ? पूर्वमाओवादीका चार जना पनि मन्त्री बन्ने

जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले आठ जना मन्त्री र दुई जना राज्यमन्त्रीको नाम तय गरेको छ । जसपाबाट राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्नेछन् ।

जसपाका नेताहरूका अनुसार महतोले उपप्रधान तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व गर्ने सम्भावना छ । प्रधानमन्त्री केपी ओली पूर्वमाओवादीका नेताहरूले नेतृत्व गरेका मन्त्रालयमा जसपाका नेताहरूलाई समाहित गर्ने प्रयासमा देखिन्छन् । तिनै मन्त्रालयका विषयमा प्रधानमन्त्री ओली र जसपाका नेताहरूबीच छलफल भइरहेको छ ।

पूर्वमाओवादीका नेता रामबहादुर थापा ‘बादल’ले नेतृत्व गरेको गृह मन्त्रालय भने जसपाको भागमा पर्ने सम्भावना छैन । नेता राजेन्द्र महतोले गृह मन्त्रालय दाबी गरेको भए पनि पनि प्रधानमन्त्री ओली सहमत भइसकेका छैनन् । पूर्वमाओवादीको भागमा सातवटा मन्त्रालय थिए । अहिले जसपाको ठाकुर-महतो पक्षले आठवटा मन्त्रालय पाउने भएकाले एमालेका केही मन्त्रीहरू पनि फेरबदल हुने सम्भावना छ ।

जसपाका एक नेताका अनुसार आजै जसपाका नेताहरू मन्त्री हुने अवस्था आए आठ जना नै जाने सम्भावना कम छ । त्यसैगरी, जसपाका अर्का नेता शरतसिंह भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लिने र शहरी विकास मन्त्रालयमा अनिल झा पठाउने गरी तयारी भइरहेको छ ।

त्यसैगरी, जसपाबाट चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकिशोर यादव, विमल श्रीवास्तव र उमाशंकर अरगरिया पनि मन्त्री बन्नेछन् । यसैगरी एकवाल मिया र रेनुका गुरुङलाई भने राज्यमन्त्रीमा बनाइनेछ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव छाडेर ठाकुर–महतो पक्षमा लागेका श्रीवास्तव, अरगरिया र गुरुङले मन्त्रालय सम्हाल्ने मौका पाउन लागेका हुन् । अध्यक्ष यादवलाई छोडेर पाँच जना निवर्तमान सांसद ठाकुर पक्षमा लागेका थिए । यादवलाई छाडेका रुही नाज र कलुदेवी विश्वकर्माले भने तत्काल अवसर पाउने छैनन् ।

जसपाका नेताहरूको भनाइमा श्रीवास्तवले खानेपानी मन्त्रालय पाउने  सम्भावना छ र अरगरियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनेछन् । तर, अरगरियाले भने युवा तथा खेलकुद मन्त्रालयमा चित्त बुझाएका छैनन् ।

यता प्रधानमन्त्री ओलीले पूर्वमाओवादीका चार जनालाई मन्त्री बनाउने स‌‌म्भावना छ । अहिलेकाे सरकार चुनावी सरकार भएकाले अदालतकाे आदेशले फरक नपर्ने भन्दै ओलीले बादललाई फेरि मन्त्री बनाउने तयारी गरेका छन् । पूर्वमाओवादीबाट नयाँ ल्याउने वा पुरानैलाई दाेहाेर्‍याउने भन्नेबारे टुंगो लागिसकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE