चिनियाँ विदेश मन्त्रीलाई भेटे तालिबान नेताले


अफगानिस्तानमा प्रभाव बढाउँदै लगेको विद्रोही समूह तालिबानका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध पनि विस्तार गर्न थालेका छन्।
बुधबार तालिबान नेताको एउटा समूह छिमेकी चीनको उत्तरपूर्वी शहर तियान्जिन पुगेको छ। तालिबानका राजनीतिक प्रमुख मुल्लाह अब्दुल घानी बारादारसहित ९ जनाको टोलीले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ।

भेटका क्रममा विदेश मन्त्री यीले अफगानिस्तानको पुनर्संरचना र मेलमिलापमा तालिबानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका थिए।

चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरामा पार्न सक्ने इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई पनि तालिबानले सघाउन नहुने उनको भनाइ थियो।
जवाफमा तालिबान नेताहरूले चीनलाई खतरा हुने कुनै कामका लागि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए।

तालिबान प्रवक्ता मोहम्मद नाइमका अनुसार चिनियाँ अधिकारीहरूको निमन्त्रणामा उनीहरू चीन पुगेका हुन्।
‘राजनीति, अर्थतन्त्र, दुबै देशसँग सम्बन्धित सुरक्षाको विषय र अफगानिस्तानको अहिलेको अवस्थाबारे भेटमा छलफल भएको छ,’ नाइमले भनेका छन्,‘हाम्रो टोलीले चीनविरूद्ध आफ्नो भूमि प्रयोग हुन नदिने बताएको छ भने चीनले पनि अफगानिस्तानलाई सहयोग जारी राख्ने र हस्तक्षेप नगरी समस्याको शान्तिपूर्ण समाधानमा सघाउने कुरा दोहोर्‍याएको छ।’
अतिवादी विद्रोहि समूहलाई चीनले आफ्नो भूमिमा निम्त्याएर छलफल गर्नुले सत्ता कब्जा गर्ने अवस्थामा रहेको तालिबानलाई वैधता दिएको देखिन्छ। अमेरिकी र नाटो सैनिक अफगानिस्तानबाट फर्किएपछि चीनले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन खोजेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE