कोरोनाको असरले पर्यटन व्यवसायमा अहिलेसम्म ३२ अर्बको नोक्सान

यस्तो छ पर्यटन बोर्डको पर्यटन प्रवर्द्धन नयाँ रणनीति – Dcnepal

-सम्झना घिमिरे

सम्झना घिमिरेकारोना संक्रमणको दोस्रो लहरले विस्तारै नेपाललाई छोड्दै गर्दा व्यापार व्यवसायदेखि बैंक तथा वित्तीय सस्थाहरूसमेत धमाधम खुल्न थालेका छन् । संक्रमण कम भएसँगै जनजीवन सामान्य हुँदा बजार पुन: चलायमान हुन थाले पनि पर्यटन क्षेत्र भने विगत ढेढ वर्षदेखि नै ठप्पप्राय: छ ।

कोरोना भाइरसको संक्रमणले विश्वलाई गाँजेसँगै त्यसमा बाट उठ्न नसक्दा नेपालको पर्यटनक्षेत्र झण्डै १६ महिना कोमामा पुगेको हो । पहिलो निषेधाज्ञामा नै करिब १० अर्ब गुमाइसकेको पर्यटनक्षेत्रले अहिलेसम्म झण्डै ३२ अर्ब गुमाइसकेको छ ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल पर्यटनक्षेत्रमा कोरोनाको पहिलो र दोस्रो गरेर कुल ३२ अर्ब भन्दा बढीको क्षति बेहोर्नुपरेको बताउँछन् । मासिक रूपमा २ अर्बका दरले पर्यटन व्यवसायीको नोक्सानी बढ्दै गएको बताउने उपाध्यक्ष रिजाल यसैलाई यकिन तथ्यांक भने मान्न तयार छैनन् । ‘यो हामीले गरेको अनुमानित रकम हो । अहिलेसम्म सरकारी पक्षबाट पर्यटनक्षेत्रको के कति नोक्सान भयो, कति अर्ब रकम गुमाउनुपर्‍यो भन्ने यकिन तथ्यांक छैन । तथ्यांक नभएपछि अनुमान नै गर्नुपर्‍यो,’ उनले भने ।

करिब ३२ अर्बको नोक्सानी बोहोरिसकेको पर्यटन क्षेत्रका ६५ प्रतिशत कामदारले रोजगार गुमाउन पुगेका छन् । योबाहेक १७ प्रतिशत व्यसायी आफैँ व्यवसाय छोडेर हिँडिसकेका छन् ।

सरकारले कोरोनाको दोस्रो लहरको असर कम भएसँगै अन्तर्राष्ट्रिय उडानदेखि सार्वजनिक यातायातसम्म खोल्ने तयारी गरिसकेको छ । यसरी उडान र यातायात सेवा सञ्चालन भएसँगै पर्यटनक्षेत्रमा चहलपहल बढ्न सक्ने भए पनि सरकार सुरक्षित रूपमा पर्यटन क्षेत्र चलाउन उत्सुक देखिँदैन ।

यसरी करिब ढेढ वर्षसम्म पर्यटनक्षेत्र ध्वस्त हुन नदिन सरकारले प्रभावकारी कदम नचाल्दा यो क्षेत्र वर्षौंसम्मका लागि थलिने अवस्थामा पुगेको छ ।

होटल एसोसिएसनका प्रथम उपाध्यक्ष विनायक शाह पर्यटनक्षेत्रलाई गरेको बेवास्ताले अबको दशौँ वर्षसम्म व्यवसायीले मूल्य चुकाउनुपर्ने गुनासो गर्छन् । उनी भन्छन्, ‘माग गर्दा मीठामीठा कुरा गर्ने सरकारले बजेटमा पनि पर्यटनक्षेत्र उकास्ने योजना ल्याउँछ । उत्साहित भएर पर्यटन व्यवसायी तयारीमा लाग्छन् तर बजेटमा समेटिएको योजनाले कार्यान्वयन हुनै पाउँदैन । यसको मूल्य हामी व्यसायीले मात्र नभएर समग्र सरकारले नै चुकाउनुपर्छ’ ।

कोरोना संक्रमणले ध्वस्त बनेको पर्यटनक्षेत्रमा योजना आए पनि फेरि लकडाउन वा निषेधाज्ञाको अवस्था आए कसरी सञ्चालन गर्ने भन्ने विकल्प खोजिएको छैन । यद्यपि सरकारले पलायन हुने व्यवसायी र कर्मचारीको भने लेखाजोखाराख्दै आएको छ ।

प्रतिवेदनअनुसार ८० प्रतिशत व्यवसायीले यसबीचमा सञ्चालन खर्चसमेत उठाउन सकेका छैनन् भने ३२ प्रतिशतले लगानी थप्ने योजना तत्कालका लागि स्थगित गरेका छन् ।

प्रतिवेदनमा ९५ प्रतिशत व्यवसायीसँग चार महिनाका लागि पनि नपुग्ने बचत रहेको देखिएको छ भने ८७ प्रतिशतले पैसा सापटी लिएको देखिएको छ ।

यसबीचमा ३५ प्रतिशतले व्यवसाय नै बिक्री गर्न खोजेका थिए भने ६५ प्रतिशतले बिक्री गर्न नचाहेको देखिएको छ । तर, बिक्री गर्न चाहेका ३५ प्रतिशतमध्ये पनि ९ प्रतिशत मात्रै सफल भएको २६ प्रतिशत असफल भएको देखिएको छ ।

व्यवसायीमध्ये ६६ प्रतिशतले सहुलियत ऋण लिएको र ३४ प्रतिशतले धितो राखेर बैंक तथा वित्तीय संस्थामार्फत कर्जा लिएको पाइएको छ । योबाहेक ६ प्रतिशत व्यवसाय बन्द भएका छन्, जसमा क्वारेन्टाइन बनेका केही होटल तथा आरोहण सम्बन्धित व्यवसायहरू छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE