कर्णाली र सुदूरपश्चिममा घटेन संक्रमणदर, परीक्षणकाे ५२ प्रतिशतमा कोभिड

Image Khabar • Image Khabar - Online News Portal in Nepal Image Khabarकाठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको संख्यामा केही कमी आएको जस्तो देखिन थालेको छ । वैशाख महिना भरी नियन्त्रण बाहिर पुगेको संक्रमण हाल केही कम हुन थालेको जस्तो देखिएको हो । तर, परीक्षणको दायरा कम भएसँगै घट्न थालेको जस्तो देखिएको संक्रमण कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने अर्कै परिदृश्य रहेको छ ।

कर्णाली प्रदेशमा जेठ महिनाभर जम्मा १२ हजार ९ सय ७२ जना व्यक्तिको मात्र कोभिड परीक्षण भयो । जसमा ६ हजार ७ सय ७७ जना व्यक्ति संक्रमित भए । अर्थात परीक्षणको ५२ दशमलव २२ प्रतिशत व्यक्ति संक्रमित भए । यस्तै सुदुरपश्चिम प्रदेशमा ३० हजार ३ सय २९ जनामा भएको परीक्षणमा ११ हजार २ सय ९७ जना व्यक्ति संक्रमित भए । जुन परीक्षणको ३७ दशमलव २४ प्रतिशत हो ।

प्रयोगशाला बढी भएकाले सुदुरपश्चिम प्रदेशमा कर्णाली प्रदेशको तुलनामा परीक्षण केही बढी हुने गरेको छ । तर, परीक्षण गरिएकाहरूमध्ये संक्रमितको सङ्ख्या धेरै छ । कर्णाली प्रदेशमा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत प्रादेशिक अस्पताल र अन्य २ प्रयोगशालावाट मात्र परीक्षण हुने गरेको छ । जसमा निकै कम मात्र परीक्षण हुने गरेको सरकारी तथ्यांक छ ।

कर्णालीमा असार १ देखि ४ गते सम्म ३ सय ९१ जनामा भएको परीक्षणमा १ सय ८३ जना संक्रमित छन् । असार ४ गते ८३ जनामा भएको परीक्षणमा ५० जना व्यक्ति संक्रमित भए । प्रदेशभरी असार २ गते २६ जनाको मात्र परीक्षण गरियो । असार ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १६ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भए ।

यी परीक्षण र संक्रमणदरले कर्णालीमा कोभिड संक्रमणदर भयावह भएको पुष्टि गर्छ । कर्णाली प्रदेशभरी दैनिक १ सय माथि व्यक्तिको पनि कोरोना परीक्षण नभएको स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने तथ्याकले देखाउँछ । परीक्षणको जिम्मा प्रदेश सरकारलाई नै दिइसकेकाले कम परीक्षण गर्नुको कारणबारे प्रदेश सरकार नै जिम्मेवार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुहुन्छ ।

देशभर दैनिक परीक्षण गरिएकामध्ये २० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि हुने गरेको छ । सरकारले अहिले परीक्षणको दायरासमेत खुम्च्याएको छ । दैनिक २० हजारभन्दा धेरै व्यक्तिमा हुँदै आएको परीक्षण १० हजारमा झरिसकेको छ । दिनहुँ हुने परीक्षणको तुलनामा सबै भन्दा धेरै संक्रमित कर्णाली र सुदुरपश्चिमका छन् ।

परीक्षणको दायरा फराकिलो बनाउने भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा १ लाख माथि एन्टिजेन किट पठाएको थियो । तर, कर्णाली र सुदुरपश्चिम प्रदेशमा किटअनुसारको परीक्षण भइरहेको छैन । संक्रमणदरले कर्णाली र सुदूरपश्चिममा संक्रमण निकै बढ्ने संकेत देखाएको छ । संक्रमण नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले समयमै उचित ध्यान नदिए ठूलो क्षति निम्तिनेतर्फ सम्बन्धित निकाय सचेत हुन आवश्यक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE