ओलीसरह समान हैसियत र अधिकार मिले एकता हुने , नत्र अर्को पार्टी गठन गर्ने नेता नेपालको चेतावनी

 

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच एकता सम्भव नभएको तीव्र अड्कलबाजी भइरहेका बेला नेपालले ओलीसँग सम्मानजनक एकता चाहेको भन्दै त्यसका लागि आफूले ओलीसँग दुई शर्त राखेको खुलासा गरेका छन्।

ओलीले अध्यक्ष पदबाट राजीनामा दिनु पर्ने कि महाधिवेशन अघिसम्म ओली र आफू समान हैसियतको पदमा रहेर म्याइन्यूटमा दुवैको हस्ताक्षर चल्ने गरी सहमति भए मात्रै पार्टी एकता सम्भव भएको उनले बताएका छन् ।

त्यसो गर्न ओली तयार नभएमा नयाँ क्रान्तिकारी पार्टी निर्माण गरेर अघि बढ्नुको विकल्प नभएको नेपालले बताएका छन् । त्यसका लागि एक जुट भएर गतिविधिहरु अगाडि बढाउन उनले आफू पक्षीय जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

दोलखा काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा शनिबार गोप्यरुपमा भर्चुअल सम्बोधन गरेका नेपालले भने, ‘ केपीलाई बिदा गर्न पाए सबैभन्दा राम्रो । अध्यक्षको पाँच वर्ष समय पुगिसक्यो ।ओलीले दुई वर्ष बढी समय लिइसके । सात-सात वर्ष अध्यक्ष भइसके । दुई वटा पार्टीका अध्यक्ष पनि भइसके । प्रधानमन्त्री पनि भएर चलाइसके । अब किन चाहियो अध्यक्ष पद ? अध्यक्षबाट उनी हट्दैनन् भने छिटो महाधिवेशन गर्ने हो । विचको अवधिमा समान हैसियतमा एउटै पदमा रहेर माइन्युटमा दुई वटा नेताहरुको हस्ताक्षर गर्ने कुरामा सहमति हुनुपर्छ । त्यसो गरिएन भने उनले कसैलाई टेर्ने छैनन् । यो नै अन्तिम विकल्प र अनकुल बाटो हो । हामीले त्यसैमा अडान लिएका छौँ।’

नेपालले यस्तो सहमति नगरिएमा कुनै पनि बेला ओलीले एमाले कब्जा गरेर आफूहरुलाई बन्धक बनाउने दाबी गरेका छन् ।

‘१० बुँदे सहमतिमा जेठ २ मा फर्कने कुरा छ । तर धमाधम बहुमतको आधारमा उनले तुरुन्तै २३ जना माओवादी नेता थपिदिने छन् । त्यो बेला हामी टाउकोमा हात राखेर बस्ने? उनले बहमुतका आधारमा अहिलेसम्मका निर्णय उल्टियो भने भने के गर्ने ?’ नेपालले आशंका व्यक्त गरेका छन् ।
यस्तै नेपालले आफ्ना शर्त मान्न तयार भएनन् भने मिल्न नसकिने पनि स्पष्ट पारेका छन् । विवाद थाँती राखेर ओलीसँग एकता गरिएको खण्डमा भविष्य सुरक्षित नहुने उनको भनाइ छ । ‘विवादलाई थाँती राखेर एकै ठाउँमा बसियो भने दैनिक दन्त बजान हुने छ। दैनिक झगडा हुने छ। ओलीका बाँदर सेना छन् । साइवर सेना छन् । साइबर स्यालहरु छन् । हनुमानहरु छन् । यी सबै नियन्त्रण गर्न सकिएला ? उनीहरुलाई नियन्त्रण गर्ने आँट भएको कोही मान्छे छ भने मलाई भन्दिनुपर्‍यो। त्यो सम्भव छ? मैले सबैको खुटी देखिसकेँ। सबैको नाडी छामिसकेँ’, नेपालले भने ।

त्यो सँगै उनले सम्मानजनक एकता नभएको अवस्थामा अर्को क्रान्तिकारी कम्युनिष्ट पार्टी घोषणा गर्ने र त्यसको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आव्हान गरेका हुन् । उनले भने, ‘ म अन्तिम प्रतिक्षामा छु। सम्मानजनक एकता भएन भने अर्को विकल्पमा जाने हो । अर्को क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने हो । कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने हो । अरु शक्तिहरुसँग पनि चुनावी तालमेल गर्ने हो । पछि सिंगो कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने हो । ओलीको पार्टीमा पनि कोही क्रान्तिकारी छन् भने हामीतिरै आउँछन् । त्यसमा हामीले उदार भावना राख्नुपर्छ ।’

नेपालले ओलीलाई अन्तिम मौका दिएको बताएका छन् । उनले २४ गतेको कथित बैठक रोक्छन् कि रोक्दैनन्, पार्टी सदस्यता वितरण गर्ने कामलाई रोक्छन् कि रोक्दैनन्, वडातहमा अधिवेशन गर्ने काम रोक्छन् कि रोक्दैनन् , गालीगलौज बन्द गर्छन् कि गर्दैनन् भन्नेबाट ओली एकता चाहन्छन् या चाहदैँनन् भन्ने स्पष्ट हुने बताएका छन् ।

उनले भने,‘ मलाई कुनै भ्रम छैन । मलाई पटक्कै विश्वास छैन, केपी ओली सुध्रिएलान् भन्ने। त्यस्तो बेला हामी त्यहाँ गएर फस्ने? त्यहाँ गएर रुने, चिच्याउने? कराउने? टाउकोमा हात राखेर बस्ने ? त्यो मञ्जुर छैन । त्यसैले सम्मानजनक एकताको कुरा गरेका छौँ । सम्मानजनक एकता केपीले मान्न तयार छन् तरु आजको पनि लक्षण राम्रो पाएको छैन । तर पनि कहिलेकाहिझ १२ बज्ने बेला सम्म पर्खिनु पर्ने हुन्छ । त्यो पर्खिन्छौँ। तर हामीले अगाडि बढ्ने यात्रामा कार्यकर्ताको मनोवल गिरायौँ भने निराश बनाउन खोज्यौँ भने त्यो ठूलो अपराध गरिरहेका हुन्छौँ । कार्यकर्तालाई एकतावद्ध र संगठित भएर अगाडि बढ भन्ने हो । ओलीसँगको एकता दोस्रो कुरा हो । आफ्नो ठाउँमा एकतावद्ध भएर हिँड भन्ने हो । आफ्नो ठाउँमा कार्यकर्ताको फराकिलो बनाउने हो। सिंगो पार्टीलाई एकतावद्ध बनाइएको अवस्थामा चुनौतीको समाना गर्छौ।’

‘ओलीले पार्टी भारतमा पुर्‍याइसके

नेपालले आफूलाई अर्को पार्टी खोल्ने रहर भने नभएको बताएका छन् । उनले भने, ‘हाम्रो अर्को पार्टी खोल्ने चाहना होइन । यही पार्टीलाई क्रान्तिकारी बनाउने चाहना छ । ओलीले जस्तो गर्न मन छैन । ओलीले एमाले पार्टी सिध्याउन लागेको होइन ? दक्षिणपन्ती भारतमा लगेको होइन ? उहाँको सबैभन्दा प्यारो महन्थ ठाकुर होइन ? भारतीय नागरिकलाई नेपालमा नागरिकता दिन लागि परेको होइन ? जसले नेपालको तराई क्षेत्र टुक्राउन खोज्यो। मध्यरातमा चाकरी गर्न दूतावास गएको होइन ?’

नेपालले ओलीले मुुलुकमा राजतन्त्र र हिन्दुराज्यको पक्षमा काम गरेको आरोप पनि लगाए । ‘कमल थापा के हो? उसँग गठबन्धन ओलीले गरेको होइन? राजतन्त्रवादी उत्साहित भएका होइन? धर्मनिरपेक्षलाई हटाएर हिन्दुअतिवादी बनाउन खोजेको होइन? कम्युनिष्ट पार्टीका प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो निवासबाट राम र हनुमानको मुर्ति निकाल्नु के हो? सबै धर्म उत्तिकै होइन ? गलत भन्नेहरु ओलीका नजरमा अपराधी, देशद्रोही र गद्धार भएका होइनन्? ओलीको दासत्व स्वकिार गर्नु क्रान्तिकारिता हो ?’

नेपाल त्यतिमा सीमित थिएनन् । उनले ओलीले प्रतिगामी कदम चालेकाले आफहरु त्यसका विरुद्ध उत्रिएको बताए । उनले भने,‘ ओलीले एकलौटी ढंगले सरकार चलाउन पाएनन् । उनको आलोचना भयो । पार्टीको बैठक बोलाएनन्, अरुको कुरा सुन्न तयार भएनन्, व्यक्तिवादी हावी भयो, मदनभण्डारी फाउडेशनलाई अघि बढाए, सामूहिकतामा चलेनन्, गुटवादी तरिका अपनाए । आफ्ना पक्षधरलाई जे पायो त्यही बोल्न लगाए। नेताहरुको मानमर्दन गनए लगाए । त्यसपछि पहिलो होइन दोस्रो पनि भंग गरे । तर उनका प्रत्येक कदम असफल भए । हामी त्यसकाविरुद्ध एक जुट भयौँ । जनता पनि उनको विरुद्धमा उत्रिए । अहिले सबैबाट एक्लिएका छन् । तर पनि उनी सुध्रिने मलाई पटक्कै छैन । उनी सुध्रिए भने मैले आग्रह पालेको रहेछु भन्ने ठान्ने छु ।’ – दिपा दाहाल ( देश संचारबाट )

 

WRITE COMMENTS FOR THIS ARTICLE