एसियाली विश्वकप छनोट-जोर्डनविरुद्ध आज नेपालले खेल्दै

काठमाडौँ — एसियाली विश्वकप छनोट समूह ‘बी’को आफ्नो अन्तिम दोस्रो खेलमा आज नेपालले कुवेतमा जोर्डनको सामना गर्दैछ । त्यस अगाडि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बलियो प्रतिद्वन्द्वीविरुद्ध पनि जितको रणनीति बनाएका छन् ।
अल्मुताइरीले आइतबार आयोजित भर्चुअल प्रि–म्याच कन्फ्रेन्समा जोर्डन बलियो टिम भएपनि नेपालको लक्ष्य जित नै रहेको र यसै अनुसार टिम उत्रने पनि बताए ।
उनले भने, ‘जोर्डन निकै बलियो टिम हो, तर केही सञ्चारमाध्यमले जोर्डनविरुद्ध नेपालको कुनै सम्भावना नरहेको बताएका छन् । तर फुटबलमा यस्तो हुने गर्दैन । यस खेलका लागि हामीले कडा मिहिनेत गर्नेछौं ।’
फुटबलमा खेल गोलरहित बराबरीबाट सुरु हुने र खेलको नतिजा मैदानमा हुने प्रदर्शनमा भर पर्ने दाबी गर्दै प्रशिक्षक अल्मुताइरीले थपे, ‘हामीले खेलको प्रत्येक मिनेट राम्रो प्रदर्शनका लागि प्रयास गर्नेछौं । सुरुदेखि हाम्रो लक्ष्य जित नै हुनेछ ।’
नेपालले जोर्डनको सामना गर्न लागेको यो तेस्रो पल्ट मात्र हो । यसमध्ये दुई खेलमा नेपाल पराजित रहेको छ । एक खेल भने बराबरीमा टुंगेको छ । यसपल्टको विश्वकप छनोटको पहिलो लेगमा नेपाल ३–० ले पराजित भएको थियो ।
जोर्डनका प्रशिक्षक भिटाल बोरकेलमन्सले पनि फुटबलका सबै प्रकारको नतिजा सम्भव रहेको माने । उनले त्यस प्रि–म्याच कन्फ्रेन्समा भने, ‘मैले इराक र चिनियाँ ताइपेइविरुद्ध नेपालले खेलेको हेरेको छु । नेपालको खेल्ने शैली परिवर्तन भएको छ ।’
WRITE COMMENTS FOR THIS ARTICLE