एमाले विवाद : छलफल जारी राख्न ओली र नेपाल सहमत, बिहीबारको बैठकपछि ठोस रूप दिइने

एमाले एकता कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल भएको छ । ओली र नेपालबीच ओली र नेपालबीच काठमाडौं नक्सालस्थित होटल मेरियटमा १० सदस्यीय कार्यदलले तयार पारेको मस्यौदाबारे छलफल भएको हो ।

कार्यदल र शीर्ष नेताहरूबीच निरन्तर छलफल जारी राख्ने विषयमा छलफल भएको कार्यदलका सदस्य भीम रावलले जानकारी दिए । उनले कार्यदलले तयार पारेको खाकामा छलफल भए पनि ठोष निष्कर्षमा पुगी नसकेको उनले बताए ।

‘शीर्ष नेताहरू बीचमा लामो समयपछि कुराकानी भयो । अहिलेसम्म गरेका कुराकानीमा सकारात्मक परिणम कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको छ । हामी भोलि पुनः छलफल गर्छौं । त्यसपछि शीर्ष नेताहरूबीच कुराकानी हुनेछ,’ नेता रावलले भने ।

आजको भेटवार्तामा ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका रावलले कार्यदलले गरेका अहिलेसम्मका प्रगतिका बारेमा ब्रिफिङ गरेका थिए । शीर्ष नेता र दोस्रो तहका नेता सम्मिलित वार्ता करिब साढे २ घण्टा चलेको थियो ।

कार्यदलको बुधबार सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रूप दिइने समझदारी भएको थियो । सहमतिका लागि गम्भीर र सकारात्मक रूपमा छलफल भएको र चाँडै निष्कर्षमा पुगिने बैठकमा सहभागी नेताहरूले बताएका थिए ।

दलका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरूपमा सहमतिमा परिणत गर्न तीन दिनअघि कार्यदलको बैठक पुनः सुरु भएको हो । पार्टीभित्रका आन्तरिक विवाद मिलाउन गत २ जेठमा १० सदस्यीय कार्यदल गठन भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE