एमालेद्वारा कार्यदल भंग, देउवा सरकारलाई विश्वासको मत नदिने
नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले पार्टी भित्रका समस्या समाधानका लागि गठित कार्य दलले तयार पारेको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्य दल विघटन पनि गरेको हो । कार्य दलले तयार पारेको प्रस्तावलाई रचनात्मक र सृजनात्मक ढंगले कार्यान्वयन गर्ने गरी अनुमोदन गर्ने निर्णय पनि गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
यसैगरी सो पार्टीले नकाँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको एमाले स्थायी समिति बैठकले अलोकतान्त्रिक र अस्वस्थ प्रतिस्पर्धाबाट सरकार गठन भएको निष्कर्ष निकाल्दै विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएन ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकारले अध्यादेश ल्याएर एमाले पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने भन्दै त्यसतर्फ सजग रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । शुक्रबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै संसदीय दलका नेता समेत रहेका ओलीले देउवा नेतृत्वको सरकारले जे पनि गर्न सक्ने भएकाले सजग र सर्तक रहन निर्देशन दिएका हुन् ।
बैठकमा समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरेका ओलीले अब आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका थिए । त्यसक्रममा उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी विरोधी गतिविधि गर्नेहरु अपराधी भएको टिप्पणी गरेका थिए । ओलीले त्यस्ता गतिविधिमा संलग्नलाई पार्टीमा स्थान नहुने पनि दोहोर्याएका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE