आफ्नो बाध्यताका कारण विपक्षी गठनबन्धनमा नरहेर पार्टी एकतामा लाग्ने नेता नेपालको भनाई
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब आफू विपक्षी गठबन्धनमा नरहन सक्ने संकेत गरेका छन्। सर्वोच्च अदालतको फैसलापछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले यस्तो संकेत गरेका हुन्।
उनले बैठकमा आफ्नो बाध्यताका कारण विपक्षी गठनबन्धन नरहन सक्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
‘मेरा धेरै वाध्यता छन्। जसका कारण म आगामी दिनमा विपक्षी गठबन्धनमा रहिरहने अवस्था नहुन पनि सक्छ,’ नेता नेपाललाई उदृत गर्दै बैठकमा सहभागी ती नेताले भने।
उनले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विपक्षी गठबन्धनका नेताहरु समक्ष आफ्नो यस्तो बाध्यता सुनाएका हुन्।
स्रोतका अनुसार माधव नेपालले अब एमाले एकताको अवस्थामा रहेकाले आफू त्यसैमा केन्द्रित हुने बताएका थिए।
पाँच दलीय विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा रहेका छन्।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा फैसला सुनाउँदै सोमबार सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ।
सर्वोच्चको फैसलापछि सोमबार साँझ कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बसेको हो।
WRITE COMMENTS FOR THIS ARTICLE