अहंकारको सनकले निम्त्याएको ओली पतन !

-शैलेश शर्मा
राजनितिक मुद्धा सकिएको र आर्थिक प्रगतिका लागि मूल ढोका खुलेको भनिएको र देशले लामो, करिब सत्तरी वर्षपछि पहिलो पटक दुई तिहाईको स्थिर सरकार पाएको थियो । यो सरकारलाई पन्ध्र सालको सरकारसंग पनि तुलना गरे । तर त्यो भन्दा यो सरकार धेरै गुनामा बलियो थियो किनकी पन्ध्र सालको सरकारमा संविधानभन्दा माथि राजा थिए । यो सरकारले जनमुखि काम गर्नका लागि कहिं कतै विघ्नवाधाहरु थिएनन ।
तर जब यो सरकार गठन भयो त्यसको १०० दिन पनि नपुग्दै भ्रष्ट्राचारका नमूनाहरु दिनानुदिन बढदै गएका तथ्यांकहरु समाचारका हेडलाईन हुन पुगे । दक्षिण एशियामा नेपाल भ्रष्ट्राचारमा पहिलो नम्बरमा देखिएको र भ्रष्ट्राचारीलाई संरक्षण दिन प्रधानमन्त्री आंफै उद्दत भएको कुरा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका संचार माध्ययममा केपी वली हाईलाईट हुन पुगे ।
दुई तिहाईको सरकार समृद्धिको नारा संगै, सर्वसत्तावाद उन्मुख यात्रा र खुला भ्रष्टाचारका विरोधाभासपूर्ण द्वन्द्वमा पिल्सिँदै अन्ततः राजनीतिक पतनको विन्दुमा पुगेको छ। नेपालको राजनितिक ईतिहासमा ओली सरकार विभिन्न प्रश्नै प्रश्नको घेराको कठघरामा उभिएको छ ।
सर्वोच्चको संसद विघटन विरुद्धको फैसला संगसंगै केपी शर्मा ओलीको भविष्य काँडेतारको पर्खालमा तेर्सिएको छ। त्योसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको राष्ट्राध्यक्षको छवि पनि सतहमा छताछुल्ल देखिने गरी विवादमा मुछिन पुगेको छ। उनको सम्मानमा धक्का लाग्नुका साथसाथै उनको कदमले राष्ट्रपतिजस्तो सम्मानित संस्थाप्रति जनतामा वितृष्णा पनि जगाएको छ ।
२७ असोज २०७४ मा चुनावी जितका लागि पानी वरावर शत्रु घोषणा गरेको माओवादीसँग कुम जोडेका ओलीले मुलुकको दुई तिहाईको प्रधानमन्त्री बन्न कमजोर धरातलमा अवैधानिक तवरले ३ जेठ २०७५ मा कथित वाम एकताको घोषणा गर्दै नेकपा जन्माएका थिए। त्यतिबेलै यसको टिकाउ आधारबारे प्रश्नहरु नउठेका होईनन तर ती प्रश्न गर्नेहरु उनका नजरमा वाम एकता विरोधी करार गरिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर राजनीतिक स्थायीत्व, समृद्धि, भ्रष्टाचारमा शून्य सहनशीलता, द्रुत विकास जस्ता नारा उनका ललिपप थिए जनताका लागि । ओलीले विस्तारै सत्ता नियन्त्रणतर्फ महत्वपूर्ण कदमहरु बढाए, सरकारका सबै अनुसन्धनात्मक निकायहरुलाई आफ्नो अधिनमा लिए र महत्वपूर्णका साथसाथै ठूला रकमका ठेक्कापट्टा आफू निकट व्यापारिक घरानाहरुलाई दिनथाले ।
यती होल्डिङस् प्रकरणमा प्रधानमन्त्री वली सँगै उनका निकट नेता ईश्वर पोखरेलको नाम मुछिनु, भ्रष्टाचारको शून्य सहनशीलताको नारालाई निरन्तरता दिँदै गर्दा उनकै विश्वास पात्र गोकुल बास्कोटाको ७० करोड कमिसन काण्डको अडियो टेप ‘लिक’ हुनु, कोरोना भाइरस संक्रमणको महामारीका बेला स्वास्थ्य सामग्री खरिद प्रकरणमासमेत उनको नाम मुछिने जस्ता विवादास्पद भ्रष्ट्राचारका नमुनाका घटनाहरु विस्तारै सतहमा देखिन थाले ।
महमारीको असरले बन्दाबन्दीका बेला ‘ कुनै पनि नेपाली जनता भोकमरीले मर्नुपर्ने छैन ‘ भन्दै भाषणबाजी गर्ने तर टुंडिखेलमा भोकले लाईन बसिरहेका निरीह जनताहरुमाथी लाठी बजार्ने जस्ता अमानवीय घृणीत कार्य सम्म गराउन पनि उनि पछि परेनन ।
अक्सर उनले आफ्नो सम्पूर्ण मेहनत – शक्ति र सत्ता टिकाउनुमा नै बढी केन्द्रित गर्न थाले । त्यसका लागि उनले कहिले प्रचण्डलाई ‘आलोपालो सहमति’ त्याग्न लगाएर नेकपाका कार्यकारी अध्यक्ष सुम्पिए , कहिले बामदेव गौतमलाई संसदमा भित्र्याए, कहिले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सांसद अपहरण गरे। अन्ततः दम्भ , प्रतिशोध र अहंकारको सनकमा दुई–दुई पटक संविधानको हुर्मत लिने गरि संसद विघटन गरे।
पौष ५ मा आंफूले विघटन गरेको संसद सर्वोच्चले ब्यूँताएको घटना उनको मानसपटलमा नसेलाउंदै ‘म नै सर्वेसर्वा , म जहां उभिन्छु त्यहिं ठिक ’ भन्ने उनको हठी र सनकी स्वभावले राजनीतिक प्रतिशोधका साथसाथै संविधान र न्यायालयको भावनामा निर्मम प्रहार गर्दै ७ जेठ राति दोस्रो पटक उनले संसद विघटन गरे । उनले संविधान ,नियम कानुन र अदालत माथि भद्दा मजाक गरे ,खिल्लि उडाए या भनौं संविधानको चीरहरण गरे । अपराध गरे ।
३ असोज २०७२ मा संविधान जारी भएलगत्तै भारतीय नाकाबन्दीको कठोर विरोध गर्दै राष्ट्रवादी नेताको छवी बनाएका ओलीले कालापानी ,लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संसदबाटै अनुमोदन गरेर वाहवाहि कमाउन पनि सफल भएकै हुन । जब ४ कार्तिक २०७७ मा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल भारतीय वायुसेनाको विमान लिएर हल्लाखल्ला गर्दै काठमाडौं ओर्लिए र बालुवाटार छिरेर ओलीसँग मध्यरात दुई घण्टा छलफल गरेर फर्किए । त्यसपछि ओली विस्तारै सत्ता टिकाउन भारतसँगै समर्पणको नीति अपनाए। अनि आफूले निर्माण गरेका आसाका पाइलाहरु मेट्दै अगाडि बढे
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी ओलीको राष्ट्रवादी कार्डलाई अवसरवादका रूपमा चित्रित गर्छन् । ‘उहाँको राष्ट्रवादको कार्ड सत्तालाई निरन्तरता दिने अवसरवादको कार्ड मात्रै हो,’ लोहनी भन्छन , ‘केपीजीको बोली र व्यवहारमा तालमेल छैन, देशको राष्ट्रिय स्वार्थको रणनीतिक दृष्टिकोण पनि छैन ।’
विदेशी मुलुकको गुप्तचर प्रमुखसँग गरेको गुपचुप वार्तामा के कुरा भयो, प्रधानमन्त्री ओलीले अहिलेसम्म खुलाएका छैनन् । गोयल ओलीलाई भेट्न त्यतिखेर आएका थिए, जतिबेला नेकपाको विवाद बिस्तारै उत्कर्षमा पुग्दै थियो । ओलीले नाकाबन्दी र नक्सा सार्वजनिक गर्ने बेला खेलेको राष्ट्रवादको कार्ड भारतले कात्तिक ४ गते मध्यरात गोयललाई पठाएर फिर्ता लग्यो । त्यसैकारण ती गुप्तचरले आफ्नो आगमन गुप्त राख्न चाहेका थिएनन् ।
४ कार्तिक उनको भारतीय गुप्तचर निकायका प्रमुख सामन्त गोयलसँगको गोप्य भेट अस्पष्ट र अपरिपक्व कूटनीतिक उनको सत्ता यात्रामा अर्को असफलता हो। भारतद्वारा अतिक्रमित नेपाली भूमि उनले बनाएको नक्सा कागजमा सीमित भए। आफ्नो देशको वातावरणीय सन्तुलन बिगारेरै भएपनि ढुंगा, गिट्टी, भारतलाई बेच्न उनी तयार भए । धन्न सर्वोच्चले उनको यो घातक कदममाथि रोक लगाएको छ ।
दुई तिहाईको अवसरलाई सहि ढंगले चलाउन नसक्नु केपी ओलीको ठुलै कमजोरी देखिएको पृष्ठभूमिमा पछिल्लो समय अदालतले नेकपालाई अवैधानिक ठहराईदिएपछि आफ्नै पार्टिका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई अपमानको साथसाथै पेल्ने रणनिती लिनु प्रधानमन्त्री ओलीका लागि अन्तत : सनकको भरमा आफ्नै खुट्टामा बंचरोले हान्नु सावित भयो ।
WRITE COMMENTS FOR THIS ARTICLE