अनुदानमा नपाए किनेर भए पनि खोप ल्याउन सरकार तयार छ : ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तरक्रिया गर्दै उनले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिडविरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गरेका हुन् ।
अनुदानमा नभए किनेर भएपनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक राष्टहरूलाई आग्रह गरे । झण्डै २ करोडलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उनले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गरे । उनले कोभिड नियन्त्रणका नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैकका क्षेत्रिय निर्देशक लगायत विभिन्न दूतावासहरूको सकारात्मक सहयोग रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई धन्यवाद दिए ।
भारतपछि दक्षिण एशियामा खोप सुरु गर्ने दोश्रो मुलुक नेपाल भएको भन्दै उनले छिमेकीहरूको सहयोगका कारण खोप सुरु गरेपनि पछि विभिन्न कारणहरूले खोप उत्पादक कम्पनी र देशहरूले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएका कारण तिब्रताका साथ खोप कार्यक्रमलाई अगाडि बढाउन नसकेको बताए ।
उनले सरकारको विरोध गर्नेहरूले प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति तोक्ने निर्णयलाई असंवैधानिक भयो भनेर विरोध गरिरहेको उल्लेख गरे । सरकारका विरोधीहरूले सरकारका अन्य कतिपय कुराहरूलाई पनि राजनीतिका विषय बनाएर आलोचना गर्ने काम भएको र सरकारले जारी गरेका अध्यादेशहरूको सम्बन्धमा पनि विरोध भइरहेकोबारे आफु जानकार रहेको बताए । उनले विपक्षीहरूले कोभिडको दोश्रो लहरलाई राजनीतिक अभिष्ट पुरा गर्ने माध्यम बनाएको दाबी गरे ।
उनले भने ‘कोभिड १९महामारीको यो दोश्रो लहर राजनीतिक हिसावले अदालतलाई दबाब दिने प्रयोजनका लागि पनि र जनदबाब श्रृजना गरेर न्याय निरुपणलाई प्रभावित गर्ने उद्देश्यले न्याय अथवा थ्रेट खडा गर्ने हिसाबले पनि यी विषयहरू उठे र उठाइए । जसले गर्दा सामाजिक दुरी कामय राख्ने कुराहरूमा कमी आयो । आस्थागत कारणले पनि धार्मिक जात्रा जस्ता कुराहरूमा भीडभाड गर्ने पर्ने कुराहरूले पनि सजिलोसँग संक्रमण फैलियो ।’
WRITE COMMENTS FOR THIS ARTICLE